काठमाडौं, १७ माघ २०८१ । केही वर्षअघि निर्यातको उत्कृष्ट १० मा प्रशोधित पाम तेलले लामो समय ओगट्दै आएको थियो। कुल निर्यातको सबैभन्दा बढी हिस्सा नै यसले ओगट्थ्यो। गत वर्षसम्म पाम तेलको निकासीले नेपालको समग्र निर्यात व्यापारमा सुधार आएको थियो। तर, भारत सरकारले यस्ता वस्तुको आयातमा व्यापार नीति खुकुलो बनाएपछि नेपालबाट निर्यात सुस्ताएको हो।
अहिले सबैभन्दा बढी निर्यात हुने पहिलो सूचीमा प्रशोधित भटमासको तेल भएको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा उल्लेख छ। उक्त तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा १८ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ। यो गत आवको सोही अवधिको भन्दा धेरै बढी हो।
गत आवको सोही अवधिमा ४२ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो। यद्यपि अझै पनि नेपालमा भटमासको तेल उत्पादनका लागि स्वदेशी कच्चापदार्थ पर्याप्त छैन। अधिक कच्चापदार्थ आयात गरेरै त्यसमा २० प्रतिशत मूल्य अभिवृद्धि अर्थात भ्यालुएड हुने गरी अन्ततः प्रशोधित भटमासको तेल निकासी भइरहेको छ। यसअनुरूप नेपालले सोही अवधिमा भटमासको कच्चा तेल २४ अर्ब ३७ करोडको आयात गरेर प्रशोधनमार्फत बल्ल १९ अर्ब आसपास निर्यात गर्न सकेको तथ्यांकमा देखिन्छ।
यसैगरी बढी निर्यातको दोस्रो सूचिमा सेन्थेटिक यार्न रहेको छ। गत आवको ६ महिनामा ५ अर्ब ७० करोड निर्यात भएको सेन्थेटिक यार्न यसवर्ष २०.४ प्रतिशतले वृद्धि भएर ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको भयो। यसैगरी नेपालको उनीको गलैंचा भन्नेबित्तिकै धेरै विकसित मुलुकहरू आकर्षित हुने गरेका छन्। अझ दशकअघि निर्यातको आधा हिस्सा ओगड्ने अहिले भने ह्वात्तै घटेको व्यवसायीहरू गुनासो गर्छन्। यद्यपि उनीको गर्लैचा कार्पेट निर्यातित वस्तुमध्ये उत्कृष्ट ३ मा पर्न सफल भएको छ। जुन चालु आवको पुससम्ममा ५ अर्ब ६१ करोड रुपैयाँको विदेशमा बिक्री गर्न सफल भयो। जबकी गत आवको सोही अवधिमा ५ अर्ब २३ करोड निर्यात भएको थियो। उक्त वस्तुको वार्षिक निर्यात ७.२७ प्रतिशतले वृद्धि भएको छ।
बढी निर्यातको चौथो सूचीमा सूर्यमुखीको प्रशोधित तेल रहेको छ। यो आवको पुससम्म ४ अर्ब ९८ करोड रुपैयाँको निर्यात भयो। यो निर्यात गत आवको सोही अवधिको तुलनामा ३२२० प्रतिशत अधिक हो। किनभने गत आव १५ करोड रुपैयाँको मात्र निर्यात भएको थियो।
यसैगरी नेपालको पूर्वी क्षेत्रमा अधिक उत्पादन हुने अलैंची उत्कृष्ट निर्यातको पाँचौं स्थानमा रहेको छ। गत वर्ष ३ अर्ब ९१ करोडको निर्यात भएको अलैंची यसपटक १६.८८ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड रुपैयाँको निकासी भयो। नेपालले उत्पादन गरेका कपडाले पनि क्रमशः बजार लिन खोजेको छ। निर्यातको छैठौं स्थानमा रहेको तयारी कपडाको निर्यात ४ अर्ब ३८ करोड रुपैयाँको भएको छ। जबकी गत आव ४ अर्ब ६७ करोड रुपैयाँको भएको थियो। यसैगरी बढी निर्यात हुने सातौंमा प्लाइउड छ। जसको निर्यात ४ अर्ब २५ करोड बराबरको भएको छ। यो गत आवकोभन्दा २०.२५ प्रतिशत बढी हो। यससँगै, बढी निर्यात हुने वस्तुमा क्रमशः फलामे पाता ४ अर्ब ८ करोडको, फलफूलको जुस ३ अर्ब ४५ करोड र चिया ३ अर्ब १७ करोड रूपैयाँको निर्यात भएको छ।
यता नेपालले आयात गर्ने वस्तुमध्ये सबैभन्दा बढी हिस्सा सधैं पेट्रोलियम पदार्थकै छ। चालु आवको ६ महिनासम्म सबैभन्दा बढी डिजेल ५४ अर्ब ३५ करोड, पेट्रोल ३२ अर्ब १५ करोड, एलपी ग्यास २९ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएको छ। तर यसवर्ष आयातित डिजेलको आकार १८.२ प्रतिशतले घट्दा राजश्व पनि ४ प्रतिशतले कमी आएको छ।
डिजेलबाट मात्रै मुलुकले २४ अर्ब २६ करोड राजश्व उठाएको छ। यस्तै पेट्रोल आयातवापत २१ अर्ब १० करोड र ग्यासबाट ५ अर्ब ५६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ। बढी राजस्व उठाउने वस्तु पनि यिनै हुन्। यसैगरी बढी आयात हुने अन्य वस्तुमा चौथोमा शुद्ध फलाम २५ अर्ब ७२ करोड आयात गर्दा ५ अर्ब ६ करोड राजश्व उठ्यो। यसैगरी क्रमशः पाँचौंमा भट्मासको तेल कच्चा २४ अर्ब ३७ करोड आयात गर्दा १ अर्ब ३० करोड सरकारले राजस्व संकलन ग¥यो। यसैगरी तयारी कपडा २२ अर्ब १० करोडको, एचआर सिट २१ अर्ब २२ करोड, मोबाइल टेलिफोन १७ अर्ब ८५ करोड, अन्य एलोपेथिक औषधि १५ अर्ब ४३ करोड र सूर्यमुखीको कच्चा तेल १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको आयात भएको छ।
चालू आर्थिक वर्षमा वस्तु आयात ८ खर्ब २२ अर्ब ३७ करोड रूपैयाँ र निर्यात ९८ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको छ। जबकी गत आर्थिक वर्षको पुस मसान्तसम्म कुल वस्तु आयात ७ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ र निर्यात ७४ अर्ब ९७ करोड रूपैयाँको भएको थियो। यसअनुरूप गत आर्थिक वर्षको तुलनामा आयातमा ७.०६ प्रतिशतले वृद्धि तथा निर्यातमा ३१.७८ प्रतिशतले वृद्धि भएको छ।
यसअवधिमा भएको आयातबाट भन्सार विभागले चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म २ खर्ब २६ अर्ब ४७ करोड राजस्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्य ५ खर्ब ८२ अर्ब ६७ करोडको ३८.८७ प्रतिशत र पुस महिनासम्मको लक्ष्य २ खर्ब ८० अर्ब ३९ करोडको ८०.७७ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षमा राजस्व संकलनमा १०.९३ प्रतिशतले वृद्धि भएको छ।
अर्धवार्षिक राजस्व संकलनलाई शीर्षकगत रूपमा हेर्दा सबैभन्दा बढी भन्सार महसुल (पूर्वाधार करसमेत) १ खर्ब ९ अर्ब २१ करोड रहेको छ। जुन कुल राजस्व संकलनको ४८.२२ प्रतिशत हो। त्यसैगरी, मूल्य अभिवृद्धि करबाट ९३ अर्ब १७ करोड रुपैयाँ (४१.१४ प्रतिशत), अन्तशुल्कबाट २२ अर्ब ५९ करोड रुपैयाँ (९.९७ प्रतिशत) र हरित करबाट १ अर्ब ४८ करोड रूपैयाँ (०.६५ प्रतिशत) राजस्व संकलन भएको छ। समग्रमा हेर्दा पुस मसान्तसम्मको लक्ष्यको तुलनामा राजस्व संकलन सन्तोषजनक देखिए पनि वार्षिक लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक भएको भन्सार विभागले महसुस गरेको छ। अझ भन्सार विभागको प्रत्यक्ष अनुगमनबाट पुस मसान्तसम्म ४६ करोड ६६ लाख रुपैयाँ थप राजस्व असुली भएको जानकारी दिएको छ।