झापा, १६ माघ २०८१ । सभामुख देवराज घिमिरेको पहलमा करिव १ करोड बराबरको अस्पतालजन्य सामग्रीहरु बिर्तामोड र अर्जुनधाराका स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको छ ।
बिर्तामोड नगरपालिकाको बिर्तामोड नगर अस्पताललाई ६८ लाख ६८ हजार बराबरको १३६ प्रकारका विभिन्न अस्पतालजन्य सामग्री हस्तान्तरण गरिएको हो भने अर्जुनधारा नगरपालिकाको खुदुनावारी स्वास्थ्य चौकीलाई २५ लाख १४ हजार बराबरको अस्पतालजन्य सामग्री प्रदान गरिएको छ । हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा प्राप्त ती सामग्रीहरु बुधवार बिर्तामोड नगर अस्पताल र खुदुनावारी स्वास्थ्य चौकीमा पुगेर सभामुख घिमिरेले हस्तान्तरण गरेका हुन् ।
बिर्तामोड नगर अस्पताललाई सामग्री हस्तान्तरण गर्दै सभामुख घिमिरेले बिर्तामोड शिक्षा र स्वास्थ्य क्षेत्रमा हबको रुपमा विकास भइरहेको बताए । ठुला निजी अस्पतालसँग प्रतिष्पर्धा गर्दै सहुलियतरुपमा नगर अस्पतालले स्वास्थ्य सेवा प्रदान गरिरहेकोमा धन्यवाद दिए । स्थापनादेखि नै स्वास्थ्य उपचार सेवामा नगर अस्पतालले दिइरहेको सेवाप्रति खुशी व्यक्त गर्दै सभामुख घिमिरेले भने ‘सुलभ रुपमा उपचार सेवा प्रदान गर्दै यहाँका निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्ने विश्वास गरेको छु ।’ सरकारी स्वास्थ्य संस्थामा नगर अस्पतालले अब्बल संस्थाको रुपमा स्थापित हुनुपर्ने उनको धारणा थियो ।
‘जहाँ इच्छा, त्यहाँ उपाय ’, उनले थपे,‘ बिर्तामोड नगर अस्पताल ठुलो आँट र हिम्मतका कारण यहाँसम्म आइपुगेको छ । बाँकी दिनहरुमा प्रभावकारी रुपमा सेवा दिन सक्नुहोस्, निजी अस्पताललाई प्रतिष्पर्धा गर्न आउने बनाउनुहोस् । त्यसका लागि सहयोग गर्न तयार छु ।’
उपचार सेवालाई प्रभावकारी बनाउँदै लैजान आग्रह गर्दै सभामुख घिमिरेले अस्पताल स्थापित गर्ने मुख्य दायित्व नगरपालिकाको भएको बताए ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईले विगतको तुलनामा स्वास्थ्य संस्थाले उल्लेख्य प्रगति हासिल गरेको बताइन् । नगर अस्पताललाई कमजोर बनाउने उद्देश्यले विगतमा विभिन्न समस्याहरु आएपनि त्यसलाई चिरेर अघि बढेको उनको भनाई थियो । नगर अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने दातृ संस्थाहरुलाई धन्यवाद दिदैं उनले स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउने धारणा व्यक्त गरिन् ।
स्वास्थ्यकर्मीहरुको मनोवललाई उच्च बनाउँदै नगरबासीको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरिन् । कतिपय उपकरणहरु सञ्चालन गर्न दक्ष जनशक्ति अभाव भएकाले ढिलाई भएको जानकारी दिदैं अब तत्कालै सञ्चालन गर्ने जानकारी दिइन्।
नगर अस्पतालबाट चौबीसै घण्टा सेवा दिनका लागि आतुर रहेको बताउँदै उनले १२ घण्टे सेवा माघ २ गतेबाट सुरु भइसकेको जानकारी गराइन् । अस्पतालमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्मका लागि सेवा सुरु भइसकेको छ ।
अस्पतालजन्य सामग्री हस्तान्तरण कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले प्रदेश सरकारबाट स्वास्थ्य क्षेत्रमा गरिरहेको कामका बारेमा जानकारी गराए । नगर अस्पतालका लागि सुविधासम्पन्न शुद्ध खानेपानीको व्यवस्थापन मिलाईदिने प्रतिवद्धता व्यक्त गरेका छन् । कोशी प्रदेशका सांसद चिन्तन पाठक, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीलगायतले धारणा राखेका थिए ।
हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएको आर्थिक सहयोग तथा वर्क फर नेपालको व्यवस्थापकीय सहयोगमा यस वर्ष झापामा १ करोड ७१ लाख बराबरको अस्पतालजन्य सामग्री हस्तान्तरण गर्न लागिएको हो । हिजो कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई ४० लाख ५४ हजार बराबरको सामग्री प्रदान गरिएको थियो भने भोलि झापा गाउँपालिकास्थित कुमरखोद स्वास्थ्य चौकीलाई ३६ लाख बराबरको सामग्री प्रदान गर्ने कार्यक्रम रहेको वर्क फर नेपालका त्रिलोचन अधिकारीले बताए ।
हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वर्क फर नेपालको व्यवस्थापनमा विगत १५ वर्षदेखि नेपालका अस्पताल र स्वास्थ्य चौकीहरुलाई सहयोग गर्दै आएको छ । यसअघि प्रादेशिक अस्पताल भद्रपुर , कन्काई अस्पताल , अर्जुनधारा नगर अस्पताललगायतलाई अस्पतालजन्य सामग्री प्रदान गरेर सहयोग गरिएको अधिकारीले जानकारी दिए । यस वर्ष ५ करोडभन्दा बढीको सामग्री हेल्पिङ हेन्ड फर रिलिफ एण्ड डेभलपमेन्ट युएसएले वितरण गर्न लागेको जनाइएको छ ।