काठमाडौँ, १६ माघ २०८१ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् ।
१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोडभन्दा धेरै श्रद्धालु कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।
तर, मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । मानिसहरूको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरू हटाएर सडक खुला गरेको थियो ।