झापा, ११ माघ २०८१ । विद्यालयका छात्राहरुले असामान्य क्रियाकलाप गरेपछि झापाको कचनकवल– ५ पाठामारीस्थित जानकी माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ ।
कक्षा ९ मा अध्ययनरत छात्राहरुले बिद्यालयको कक्षाकोठामै सामूहिकरुपमा रुने, कराउने, काम्ने, बर्बराउने गरेपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । विगत एक सातादेखि छात्राहरुमा सो समस्या आएको विद्यालयका प्रधानाध्यापक मोहम्मद सैफुद्धिन हकले बताए ।
करिव ३ बर्षअघि सोही वडामा रहेको सुनकोशी चिया बगानमा काम गर्ने सोही ठाउँका ३ जना युवतीहरुले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । ती युवतीहरुको आत्माले छात्राहरुलाई छोपेपछि उनीहरुले यस प्रकारको क्रियाकलाप गर्ने गरेको विद्यालयका शिक्षक, अभिभावक र स्थानीयको भनाई छ । आफूहरुले धामीझाक्री बोलाएर तन्त्रमन्त्र गराएको प्रधानाध्यापक हकले बताए । अभिभावकहरुले आफ्ना छोराछोरीको जिम्मेवारी लिने भएपछि मात्र विद्यालयमा पठाउने बताएपछि आज पठनपाठन बन्द गरेको उनले जानकारी दिए । विद्यार्थीहरुको त्यस किसिमको असामान्य क्रियाकलापका कारण विगत एक सातादेखि पठनपाठन प्रभावित भएको उनले बताए ।
सो विद्यालयका विद्यार्थीहरुमा त्यस किसिमको समस्या देखिएपछि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी , उपाध्यक्ष नवराज भट्टराई , वडाका जनप्रतिनिधि , शिक्षा शाखा र स्वास्थ्य शाखाका कर्मचारीसहितको टोलीले आज विद्यालयमा पुगेर जानकारी लिएको छ ।
सो विद्यालयका ६ जना छात्रामा मानसिक समस्या देखिएको कचनकवल गाउँपालिकाका स्वास्थ्य निरीक्षक नवीन मिश्रले बताए । उनले आफूहरुले समस्यामा रहेका छात्राहरुको घरमै पुगेर सम्बन्धित छात्रा र उनीहरुका अभिभावकहरुलाई काउन्सिलिङ गरेको जानकारी दिए । मनोसामाजिक परामर्शसंगै केही विद्यार्थीहरुलाई साइकेटिकसम्बन्धी औषधी सेवन गराउन जरुरी देखिएको उनले बताए । केही दिनमा विद्यालयमा मनोसामाजिक परामर्शकर्ता बोलाएर काउन्सिलिङ गर्न लागिएको उनको भनाई छ ।‘ डराउने , काम्ने , पछाडिबाट कसैले समाएको जसरी चिच्याउने , रुनेजस्ता समस्या देखिएको छ ’ उनले भने,‘ यो फङ्सनल डिसअर्डर हो । ’
सो विद्यालयमा ४४२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ पढ्ने अधिकांश विद्यार्थी आदिवासी र मुस्लिम समुदायका रहेका छन् ।