Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

झापा, ११ माघ २०८१ । झापाको गौरीगञ्जमा संचालन भइरहेको आदिवासी जनजाति महोत्सवको सांगीतिक कार्यक्रममा स्थानीय पत्रकार मदन राजवंशीलाई हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गौरादह-६ निवासी सन्तोष कार्की र गौरीगञ्ज ६ निवासी एकराज चौलागाई रहेका छन् । केही दिनअघि साना किसान सहकारी संस्थाकी ऋण उपसंयोजक नुना चौलागाईले नियमविपरीत ऋण लिएको विषयमा गौरीगञ्ज दर्पणका सम्पादक राजवंशीले समाचार लेखेका थिए । सो विषयमा नुना चौलागाईका छोरा एकराज चौलागाईले आफ्नी आमाको बारेमा त्यस्तो समाचार किन लेखेको भन्दै पत्रकार राजवंशीसंग सोधपुछ गरेका थिए । राजवंशीले त्यस बिषयमा पछि गरौला भनेपछि सामान्य विवाद भएर हात हालाहालको स्थिति भएको थियो । त्यसपछि प्रहरीले भीडभाडलाई नियन्त्रणमा लिएर तितरबितर पारेको थियो ।

गौरीगञ्ज दर्पणका सम्पादक राजवंशीले आफूमाथि हातपात गर्न खोज्ने बिरुद्ध इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ठाडो निबेदन दिएका थिए । पत्रकार राजवंशीले एकदिन राखेर भोलि छलफल गर्ने भनेपछि आज छलफल हुन सकेन । ती दुवैलाई आज इलाका प्रहरी कार्यालय गौरीगञ्जमै राखिएको छ । भोलि दुईपक्षीय छलफल गरेर दुवैलाई छोडने बताइएको छ ।

गएराति १०:३० बजे अनलाइनमार्फत सांगीतिक कार्यक्रमको प्रत्यक्ष प्रसारण सकेर महोत्सवको गेटबाट बाहिर निस्कने क्रममा पत्रकार राजवंशीसंग विवाद भएको थियो । पत्रकार राजवंशीमाथि भएको हमलाका दोषीलाई पक्राउ गरी कार्वाही गर्न नेपाल प्रेस युनियन र प्रेस चौतारीजस्ता संगठनहरुले विज्ञप्ति जारी गरेका छन् । गौरीगञ्जमा आयोजित आदिवासी जनजाति महोत्सवमा राति गायिका मेलिना राईको प्रस्तुती रहेको थियो । गायिका मेलिनाले गीत गाइरहँदा उच्छृंखल व्यक्तिले बाहिरबाट ढुंगा हानेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया