Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

काठमाडौं, ११ माघ २०८१ । भारतको महाराष्ट्र राज्य अन्तर्गत जलगाउँ जिल्लाको परधाडे स्टेसन नजिकै भएको रेल दुर्घटनामा परी मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मृत्यु हुनेमा अछामका ४ जना, कैलालीका २ जना र बाँकेका एक जना रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा अछाम मंगलसेनका ११ वर्षीय हिमुनन्दराम विश्वकर्मा, ४४ वर्षीय नन्दराम पद्म विश्वकर्मा, ४२ वर्षीया मैसारा कामी विश्वकर्मा र अछाम कमलबजारकी ६० वर्षीया जोक्ला उर्फ कला कामी रहेका छन् ।

रेल दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीकी ४३ वर्षीया कमला नवीन भण्डारी र ४० वर्षीय लछिराम पासी रहेका छन् । यसै गरी बाँकेको डंडुवाका ३२ वर्षीय राधेश्याम राधको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पताल, जलगाउँमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचारका लागि सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ९ माघ साँझ करिब ५:५ बजे भएको रेल दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो ।

 

तपाईको प्रतिक्रिया