Online Bichar
शुक्रबार, माघ ११, २०८१ | Friday, January 24, 2025

झापा, १० माघ २०८१ । पूर्वमुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि मुक्का हान्ने नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु धरौटीमा छुटेका छन् ।

अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले मुद्धा दायर गरेका उनीहरु जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भएका हुन् । नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरु शिवसताक्षी-११ का ४९ वर्षीय भक्तबहादुर कट्वाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठसंग प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बयान लिएपछि सामान्य धरौटीमा छुटेका हुन् । उनीहरुलाई जनही ५–५ हजार रुपैयाँ धरौटी लिएर छोडिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए ।

अभद्र व्यवहार गरेको कसूरमा माघ ६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडले ३ दिनको म्याद लिएर उनीहरुमाथि मुद्धा दायर गरेको थियो । पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि माघ ५ गते साँझ कुटपिट भएको थियो ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक थापामाथि उनीहरुले मुक्का हानेका थिए । बा १ झ ६५३ नं को गाडीमा घर फर्किदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका ती कर्मचारीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीले पूर्वमुख्यमन्त्री थापा चढेको गाडीलाई सुरुङ्गा पुलनजिक डाइभर्सनमा साइड नदिएको भन्दै विवाद भएको थियो ।

 

तपाईको प्रतिक्रिया