Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

वीरगन्ज, १० माघ २०८१ । चालु आर्थिक वर्षको ६ महिनामा वीरगन्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ), मट्टितेल आयात हुँदा ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ । चालु आवको ६ महिनामा रु ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयातबाट रु १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

चालु आवको ६ महिनामा दुई लाख २० हजार ३८५ किलोलिटर आयात भएको पेट्रोलबाट रु १२ अर्ब ४७ करोड राजस्व दाखिला भएको छ ।

चालु आवको ६ महिनामा रु आठ अर्ब नौ करोड बराबरको ८९ हजार ३८० किलोलिटर (एटीएफ) आयातबाट रु एक अर्ब एक करोड तथा रु ३६ करोड २० लाख बराबरको चार हजार २० किलोलिटर मट्टितेल आयातबाट रु १० करोड राजस्व संकलन भएको जनाइएको छ ।

आव २०८०/८१ को ६ महिनामा ८८ अर्ब ७८ करोड बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएको थियो । गत आवको सोही अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु ३२ अर्ब ९५ करोड ४१ लख ४६ हजार राजस्व संकलन गरेको थियो ।रासस

 

तपाईको प्रतिक्रिया