Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौँ, १० माघ २०८१ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीबाट अवतरण सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई आजदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था गरेको हो ।

अहिलेसम्म उक्त विमानस्थलमा आँखाले हेरेरै उडान तथा अवतरण गर्नुपर्थ्यो । यसो गर्दा करिब १८०० मिटरको भिजिबिलिटी चाहिन्थ्यो । यो प्रणाली अन्तर्गत उडान तथा अवतरण गर्न सानो जहाजका लागि ८०० र ठुला जहाजका लागि ९०० मिटरकै भिजिबिलिटी भए पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

यद्यपि यसका लागि छुट्टै अनुमति भने लिनु पर्नेछ । आरएनपीएआर अनुसार उडान तथा अवतरणका लागि विमानमा सो प्रणालीका लागि पूर्वाधार निर्माण गर्नुपर्नेछ भने पाइलटले समेत यसका लागि तालिम पाएको हुनु पर्नेछ । आजदेखि विमान तथा पाइलटलाई यस्तो अनुमति दिन थालिएकोले यो प्रणाली पूर्ण कार्यान्वयनमा आउन भने केही समय लाग्ने भूलको भनाइ छ ।

के हो आरएनपी–एआर प्रणाली ?
विमानको उडान तथा अवतरण गर्दा पाइलटले खासगरी दुई वटा विधि प्रयोग गर्छ । पहिलो, आँखाले हेरेर तथा दोस्रो उपकरणको माध्यमबाट जहाजमा प्राप्त हुने सूचनाको आधारमा । पहिलो प्रक्रियालाई भीएफआर भनिन्छ भने दोस्रोलाई आईएफआर ।

आईएफआर अन्तर्गत पनि दुई वटा अप्रोचको प्रयोग हुन्छ, कन्भेन्सनल अप्रोच र पे्रसिसन अप्रोच । प्रेसिसन अप्रोचले पाइलटलाई तेर्सो (पार्श्व) र ठाडो (ग्लाइड स्लोप) दुवैको बारेमा मार्गदर्शन गर्छ । कन्भेन्सनल अप्रोचले भने पार्श्व रुपमा मात्रै गाइडेन्स गर्छ । गौतमबुद्ध विमानस्थलमा सुरु गर्न लागिएको प्रणाली सेमी–प्रेसिसन अप्रोच (कन्भेन्सनल अप्रोच र प्रेसिसन अप्रोच बिचको) भएको प्राधिकरणका सूचना अधिकारी भुल बताउँछन् ।

प्राधिकरणका अनुसार काठमाडौँमा यो प्रणालीका लागि आवश्यक भिजिबिलिटी ११०० मिटरको हो । त्यसो त, आरएनपी–एआर प्रणालीबाट ५५० मिटरसम्मकै भिजिबिलिटीमा पनि अवतरणको काम गराउन सकिन्छ ।

अहिले कार्यान्वयनमा ल्याउन लागिएको प्रणालीलाई सामान्य बाहेक कुनै पनि खर्च नलागेको प्राधिकरणले जनाएको छ । स्याटेलाइटमा आधारित भएकोले यसमा ग्राउन्डमा कुनै पनि उपकरण जडान गर्नु नपर्ने भएका कारण प्राधिकरणको ठुलो खर्च नलागेको हो । भारतले आईएफआर सिस्टम जडान गर्ने अनुमति नदिएपछि प्राधिकरणले यो विकल्प कार्यान्वयनमा ल्याएको हो ।

नेपालसँग सीमावर्ती भारतीय सहर कुशीनगरमा अहिले विमानस्थल सञ्चालनमा रहेकोले भैरहवा विमानस्थल सञ्चालनमा सहयोग गर्दा यो विमानस्थलको ट्राफिक घट्नसक्ने, गोरखपुरमा भारतीय सेनाको क्याम्प र भारतीय एयरफोर्सको क्याम्पको सुरक्षामा समेत आँच निष्कर्ष सहित भारतले भैरहवा विमानस्थल सञ्चालनमा लागि असहयोग गर्दै आएको छ । चिनियाँ ठेकेदारले निर्माण गरेका कुनै पनि आयोजना सञ्चालनमा असहयोग गरेर भारतले नेपालमा चीनको प्रभाव कम गर्ने नीति लिँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया