Online Bichar
सोमबार, माघ ०७, २०८१ | Monday, January 20, 2025

झापा, ७ माघ २०८१ । सरकारले खाद्यपदार्थमा रहने औद्योगिक ट्रान्स फ्याट (असन्तुलित अन्य तेल) को अधिकतम सीमा तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी यसको सीमा निर्धारण गरेको हो ।

सरकारले खाद्यपदार्थमा ट्रान्स फ्याटको मात्रा खाद्यपदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी नहुने गरी सीमा निर्धारण गरेको छ । यसबाहेक सरकारले खाद्यपदार्थको लेबलमा खाद्य नियमावली २०२७ अनुसार विवरण उल्लेख गर्न राजपत्रमार्फत व्यवस्था गरेको छ । लेबलमा अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रासमेत उल्लेख गर्न व्यवस्था गरिएको छ ।

उत्पादनको लेबलमा ट्रान्स फ्याटरहित (ट्रान्स फ्याट फ्री) भनी दाबी गरिएको हकमा उक्त खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्रामप्रति एक सय ग्राम चिल्लो पदार्थको तौलभन्दा बढी नभएको हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था सूचना राजपत्रमा प्रकाशित भएको १८१ औँ दिनदेखि कार्यान्वनयमा आउने राजपत्रमा उल्लेख छ । वनस्पति तेलमा हाइड्रोजन प्रवेश गराएर ठोस वा अर्ध ठोस बनाउने प्रक्रियालाई हाइड्रोजिनेसन भनिन्छ । वनस्पति घिउ तथा आंशिक रूपमा हाइड्रोजिनेटेड गरिएको वनस्पति तेल तयार गर्दा उत्पन्न हुने असन्तुलित अन्य प्रकारका तेल ट्रान्स फ्याटलाई औद्योगिक ट्रान्स फ्याट भनिन्छ ।

यसै गरी सरकारले अबदेखि कुनै पनि खाद्य उत्पादक, व्यवसायी र विक्रेताले मसीले लेखिएको, छापिएको र रङ्ग्याइएको कागजमा राखेर खाद्यपदार्थ बिक्रीवितरण गर्न नपाइने व्यवस्था पनि राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ ।खाद्यपदार्थमा रहेको चिल्लो पदार्थ ट्रान्स फ्याटको मात्रा तोकेभन्दा बढी भएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम कारबाही हुने खाद्य प्रविधिक तथा नियन्त्रण विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया