काठमाडौं, ५ माघ २०८१ । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो ।
नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९-१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।
नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।
नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । यसक्रममा नेपालले हालसम्म खेलेको सबै ६ खेल जित्यो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगलादेशलाई ८४-२४ ले पराजित गरेको थियो । यसैगरी क्वाटरफाइनलमा इरानलाई १०३-८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो ।
खो खो विश्वकपमै पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।