बिर्तामोड, ४ माघ २०८१ । महिला पत्रकारहरूलाई लक्षित गरी टेवाको सहयोगमा नारी सञ्चार गृहद्वारा आयोजित डिजिटल रिपोर्टिङ तालिम सम्बन्धी तीन दिने तालिम समापन तथा नेपाल पत्रकार महासंघ झापा शाखा तथा महासंघका विभिन्न तहमा निर्वाचित समितिलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
झापाको बिर्तामोडस्थित अर्किड होटेलमा सञ्चालित तालिम समापन तथा सम्मान कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं। ५ का वडाध्यक्ष रोहित प्रसाईँको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष प्रसाईँले स्वदेशमै केही गरौँ भनेर जागरूकता सञ्चार हुने प्रकृतिका समाचार सम्प्रेषण गर्न सुझाव दिए । कक्षा १२ पढिसक्दा युवा पलायन हुने क्रमले क्याम्पसहरू सङ्कटमा पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रसाईँले देशमा भएका सम्भावनालाई उजागर गर्दै युवा शक्तिलाई स्वदेश मै केही गर्न उत्प्रेरित गर्न सञ्चारको भूमिका महत्त्वपूर्ण हुने बताए ।
त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रविधिसँग खेल्न नसके पत्रकारिता आफैँमा भुत्ते भएर जाने उल्लेख गर्दै डिजिटल प्रविधि आजको आवश्यकता भएको बताए । प्रतिस्पर्धात्मक क्षमता विकास गर्न नसके परम्परागत सीपले मात्र पत्रकारितालाई भुत्ते बनाउने धारणा राखे ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर परिषद सदस्य निर्मला ल्वागुन, एविसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत उद्यमी महिला समूहकी अध्यक्ष राधिका चुँडाल हुमागाईँ, महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष शर्मिला अधिकारी, उद्यमशीलताको सशक्तीकरण अभियन्ता निर्मला भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा प्रशिक्षार्थी कृष्णकुमारी बस्नेत र गणेश कोइरालाले उपलब्धिमूलक भएको प्रतिक्रिया दिँदै तालिमको समयावधि छोटो भएको बताए । नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथि, नेपाल पत्रकार महासंघका अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपानेसहित अतिथिहरूले लगायतले तालिममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।
खोज पत्रकारिता सम्बन्धी संस्था निमजेनका प्रमुख रजनीस भण्डारी, दिनेश रेग्मी, अधिवक्ता तारामणि सापकोटा र सावित्रा दाहालले सहजीकरण गरेका थिए ।महासंघको नवनिर्वाचित कार्यसमितिसहित पदाधिकारी, राष्ट्रिय परिषद् सदस्य तथा प्रदेश परिषद् सदस्यको सम्मान कार्यक्रममा अध्यक्ष गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव प्रदीप परियार, सहसचिव रमेश तिवारी, तिलक योञ्जन, मनकुमार गदाल, भूमिराज पराजुली, राष्ट्रिय परिषद् सदस्य विशाल नेम्वाङ, प्रदेश परिषद् सदस्यहरू रश्मिशेखर सुवेदी र राम निरौला लगायतको उपस्थिति रहेको थियो ।
आयोजक संस्थाकी सचिव मायामितु न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा टेवाबारे जोसना श्रेष्ठले प्रकाश पारेकी थिइन् भने स्वागत दिपा पोखरेलले गरेकी थिइन् । तालिममा झापा, इलाम, मोरङ र सुनसरी जिल्लाका २५ जना महिला पत्रकारको सहभागिता रहेको थियो । माघ २ गते नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले तालिमको समुद्घाटन गरेकी थिइन् ।