विराटनगर, ४ माघ २०८१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्को अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका छन्।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग उनले सरकारले ल्याएका ५ वटा अध्यादेश फिर्ता लिई सदनभित्रबाट विधेयक पारित गर्नुपर्ने बताए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ७ राजनीतिक दलको उपस्थिति एवं एकदलको समर्थनमा आज बसेको बैठकले अध्यादेशको विरोधमा संयुक्त वक्तव्य जारी गरेको जानकारी दिए।
अध्यक्ष प्रचण्डले पार्टीका केन्द्रीय समिति र प्रदेश पदाधिकारीहरुको सम्पत्ति विवरण बुझाउन निर्देशन दिनुका साथै सम्पत्ति र जीविका सञ्चालनको स्रोतको खोजी गरिने बताए।
उनले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको आग्रहअनुसार पार्टीको छलफलमा सहभागी गराइएको बताए।
अध्यक्ष प्रचण्ड यही माघ ५ गते विराटनगरको न्यू सृष्टि दैनिकको वार्षिकोत्सव र मोरङको ग्रामथान गाउँपालिकामा आयोजना हुने सभामा सहभागी हुन आएका हुन्।