Online Bichar
शनिबार, माघ ०५, २०८१ | Saturday, January 18, 2025

काठमाडौं, ४ माघ २०८१ । प्रहरीले साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ ।

पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी ठगीमा मुद्दा दायर गर्न मागदाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले बताए । उनका अनुसार, अनुसन्धान प्रतिवेदनमा ३८ करोड ९ लाख ७९ हजार १ सय ७७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विभिन्न कम्पनीमा गएको सहकारीको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा मात्र १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका बेला प्रहरीले लामिछानेलाई १८ मंसिरमा चितवन लगेर बयान लिएको थियो । बयान सकेर राति कास्की फिर्ता लगिएको विषयमा विवाद समेत भएको थियो ।

साहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा गत ५ मंसिरमा रविसहितका व्यक्तिहरुविरुद्ध पुरक जाहेरी दर्ता भएको थियो । यो प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाल समेत प्रतिवादी छन् ।

साहारा सहकारी ठगी प्रकरणको मुद्दा ८ भदौमा चितवन जिल्ला अदालतमा दर्ता भएको थियो ।

 

तपाईको प्रतिक्रिया