२ माघ २०८१ । पछिल्लो पाँच महिनामा देशभर भएका आगलागीका घटनाबाट १६ जनाले ज्यान गुमाएका छन् भने १४५ जना घाइते भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार साउनदेखि मंसिरसम्मको आगलागीको घटनामा परेर मृत्यु हुनेमा ५ पुरुष र ११ महिला छन् ।त्यस मध्ये एक जना बालिका हुन् । घाइते हुनेहरूमा भने ७२ जना पुरुष र ७३ जना महिला रहेका छन् । त्यसमध्ये ३ जना बालक र ५ जना बालिका हुन् । २९ जना भने आगलागीबाट विस्थापित भएका छन् । यो समयमा देशभरि १ हजार १ सय १६ वटा आगलागीका घटना भएका थिए ।प्रहरीका अनुसार आगलागीबाट ४ सय ५५ वटा पशु चौपायामा क्षति पुगेको छ । भौतिक क्षति तर्फ १ सय ९० वटा घर, १ सय ३० गोठ र १ सरकारी कार्यालयमा क्षति पुगेको छ।आगलागीबाट पाँच महिनामा ४९ करोड ९० लाख २८ हजार ३ सय ३० रुपैयाँ आर्थिक क्षति भएको छ ।
देशभरि भएका १ हजार १ सय १६ वटा आगलागीका घटनामध्ये कोशी प्रदेशमा धेरै आगलागीका घटना छन् । यो पाँच महिनामा कोशीमा ३ सय ३१ र मधेशमा २ सय ६९ वटा आगलागीका घटना भएका छन् । वाग्मती प्रदेशभरि २१० वटा आगलागी हुँदा उपत्यकामा मात्र १ सय ४० वटा आगलागीका घटना भएका थिए । यस्तै लुम्बिनी प्रदेशमा १ सय १४, गण्डकी प्रदेशमा ८१, सुदूरपश्चिम प्रदेशमा ६० र कर्णाली प्रदेशमा ५१ घटना घटेका थिए । आगलागी नियन्त्रण र उद्धारमा ८ हजार ३ सय २२ प्रहरी परिचालित भएको प्रहरीको तथ्याङ्कमा छ ।