Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

२ माघ २०८१ । यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने दाबी सरकारले गरेको छ । पर्याप्त मात्रामा मलको मौज्दात रहेको र थप मल आयात हुने क्रममा रहेकाले मल अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । हिउँदे बाली (गहुँ, आलु र तोरी) का लागि मलको प्रयोग गरिन्छ ।

मन्त्रालयका अनुसार हिउँदे बालीका लागि एक लाखदेखि डेढ लाख मेट्रिक टन मल आवश्यक पर्ने गर्छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ पुस अन्तिम सातासम्म दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । चालु आवमा पाँच लाख ५० हजार मेट्रिक टन मल आयात गर्ने लक्ष्य रहेकोमा पुष अन्तिम सातासम्म दुई लाख १० लाख मेट्रिक टन मल आयात भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टेड्रिङ कर्पोरेसनसँग दुई लाख ४१ हजार मेट्रिक टन मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । जसमा ४४ हजार पाँच सय मेट्रिक टन युरिया, १६ हजार मेट्रिक टन डिएपी र पाँच हजार मेट्रिक टन पोटास रहेको छ ।

थप ६० हजार मेट्रिक टन युरिया र डिएपी आयातको क्रममा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले पर्याप्त मात्रामा मौज्दात रहेकाले हिउँदे बालीका लागि मलको अभाव नहुने जानकारी दिए । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका संशोधनको तयारी रहेकाले मल वितरणमा हुने समस्या समाधान हुने उनको दाबी छ । मलको खरिद प्रक्रिया जटिलताका कारण समयमा मल आयात गर्न कठिन भएको उनले जानकारी दिए ।

आगामी आव २०८२/८३ को पहिलो छ महिनालाई आवश्यक पर्ने तीन लाख मेट्रिक टन मलको आपूर्ति व्यवस्थापनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयलाई अनुरोध गरिएको उनले जानकारी दिए । आउँदो धान बालीलाई मलको आपूर्ति व्यवस्था सहज हुने गरी खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया