विराटनगर, १ माघ २०८१ । सुनसरीको बराहक्षेत्रमा न्यायाधीश सवार कार दुर्घटनामा परेको छ। दुर्घटनामा परेर उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मदन भण्डारी राजमार्गअन्तर्गत बराहक्षेत्र नगरपालिका–३ नडाह जंगलमा मंगलबार साँझ ५:१० बजेतिर सरकारी कार दुर्घटनामा परेको हो। काठमाडौंबाट विराटनगरतर्फ आउँदै गरेको बी एबी ७१४६ नम्बरको कार दुर्घटना हुँदा विराटनगर महानगरपालिका–४ घर भएका न्यायाधीश ५४ वर्षीय नारायणप्रसाद रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार खनाल न्यायाधीश रेग्मीका भिनाजु हुन्। दुर्घटनामा परेर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रेग्मीको अवस्था मध्यम र खनालको गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ। न्यायाधीश रेग्मीको छात्ती र टाउकोमा चोट छ। उनी बोल्न सक्ने अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका खनाल भने बोल्न सक्दैनन्। पारिवारिक स्रोतका अनुसार अमेरिकामा बस्दै आएका खनाल सोमबार मात्रै नेपाल आएका थिए। कारमा न्यायाधीश रेग्मी, उनका भिनाजु, छोरा र छोरी तथा चालकसहित ५ जना सवार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
कारमा सवार न्यायाधीश रेग्मीका छोरा २७ वर्षीय निश्चल रेग्मी र छोरी २० वर्षीया भूमिका रेग्मी एवं चालक भक्तपुर नगरपालिका–५ घर भएका ५४ वर्षीय कृष्णमान खोटेजा सकुशल छन्। चालक खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कार आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कार सडकबाट करिब ३ मिटरजति तल झरेको थियो। चालकले ‘ब्रेक’ लगाउने क्रममा अनियन्त्रित भएर कार पल्टिएको प्रहरीको भनाइ छ। प्रदेश प्रहरी कार्यालयले दुर्घटनामा परेर कार क्षतिग्रस्त भएको जनाएको छ।