Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौँ, २८ पुष २०८१ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विद्यार्थी भर्नामा रोक लगाएको छ । तोकिएको समय सीमा सकिएको भन्दै त्रिवि शिक्षाध्यक्षको कार्यालयले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो । शैक्षिक क्यालेन्डर अनुसार समय सकिएको बताउँदै शिक्षाध्यक्षको कार्यालयले डीन कार्यालयहरूलाई थप विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । शिक्षाध्यक्षको कार्यालयको निर्देशनपछि स्नातक तहको विद्यार्थी भर्ना रोकिएको हो ।

यो निर्णयप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आपत्ति जनाएको छ । सभापति श्यामराज ओझाले विद्यार्थी भर्नामा रोक लगाएकोप्रति आपत्ति जनाए । युवा बिदेसिने क्रम बढिरहेका बेला त्रिविको स्नातक भर्ना एक्कासि रोक्नुले आश्चर्य चकित तुल्याएको उनले बताए । देशभरिबाट विद्यार्थी तथा क्याम्पस प्रमुखहरूबाट भर्ना रोकिएकोमा गुनासो आइरहेको उनको भनाइ छ ।

निश्चित समय अवधि तोकेर भर्ना प्रक्रिया अघि बढाउन समेत उनले आग्रह गरे । रजिस्ट्रेसन नखुलेकै बेला शिक्षाध्यक्षले भर्ना रोक्न निर्देशन दिएको उनको आरोप छ । अहिलेसम्म रजिस्ट्रेसन खुलेपछि मात्रै भर्ना गर्ने प्रचलन रहेको तर, अहिले एक्कासि भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको उनको भनाइ छ ।

त्रिविले यही वर्षको फागुन १५ गते स्ववियु निर्वाचन गर्दैछ । विद्यार्थी संगठनहरू स्ववियु चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । बढी भन्दा बढी विद्यार्थी भर्ना गराएर निर्वाचन आफ्नो पक्षमा पार्ने मनसायसहित लागेका विद्यार्थी संगठनहरू भर्ना प्रक्रिया रोकिएपछि असन्तुष्ट बनेका छन् ।

 

तपाईको प्रतिक्रिया