झापा, १८ पुष २०८१ । जंगली हात्तीले एकजनाको ज्यान लिएको भोलिपल्ट झापाको कचनकवलमा घर भत्काएर क्षति गरेको छ ।
गएराति १२:३० बजे कचनकवल १ फिटिङ्ग गाउँमा ६ वटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू (जलथलिया बा) को घर भत्काएको हो । हात्तीले घर पूर्णरुपमा भत्काउनुका साथै घरमा रहेको धान चामल सबै नष्ट गरेको छ। घरका मानिसहरुले भागेर ज्यान जोगाएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।
हिजो हात्तीको आक्रमणबाट कचनकवलकी एक महिलाको ज्यान गएको थियो । दाउरा खोज्न कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी सोही ठाउँ बस्ने ३५ वर्षीया केलाबत्ती राजवंशीलाई जंगली हात्तीले लखेटी लखेटी मारेको थियो । चारकोशे झाडीमा रहेका हात्तीले कचनकवलमा लगातार उपद्रो गर्दै आएको छ ।