झापा, १५ पुष २०८१ । पूर्वप्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) झापा आइपुगेका छन् ।
गौरीगञ्जको कार्यक्रमको लागि उनी झापा आएका हुन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड गौरीगञ्ज आएको बताइएको छ ।
झापाको कन्काई पुल र आदिवासी जनजाति रंगशालाको स्थलगत अनुगमन कार्यक्रम तय गरिएको माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राजु आचार्य (अग्नि) ले जानकारी दिए । त्यसैगरी नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्ड केहीबेर अघि चन्द्रगढी विमानस्थलमा अवतरण गरी गौरीगञ्जतर्फ लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।