बैतडी, १४ पुष २०८१ । बैतडीमा निसास्सिएर एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका–६ का ३७ वर्षीय पुनाराम थारु रहेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।
पाटनस्थित शिवशक्ति फर्निचर उद्योगमा काम गर्दै आएका थारु शनिवार राति कोइला बालेर कोठामा सुतेका आज विहान नउठेपछि अचेत अवस्थामा फेला पारिएको थियो।
उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएका थारुलाई चिकित्सकले मृत घोषणा गरेका छन्। उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमै राखिएको छ।
कोइला बालेर सुतेको हुनाले थारुको मृत्यु निसास्सिएर भएको हुन सक्ने र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि गएको मंसिर २१ गते जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत एक विद्यार्थीको निसास्सिएर मृत्यु भएको थियो।
कोठामा कोइला बालेर सुतेका सुर्नया गाउँपालिका–५ धुलिधारका १४ वर्षीय अपिल बिष्टको मृत्यु भएको थियो।
यसैबीच चट्याङ लागेर बैतडीमा एकै वडामा ७ पशुचौपाया मरेका छन्।
जिल्लाको सुर्नया गाउँपालिका–६ धुलिधार र खर्काधार टोलमा चट्याङले क्षति गरेको हो। दिउँसो २ बजेतिर परेको चट्याङबाट स्थानीयले पालेका घरपालुवा पशुचौपायामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
विद्युतको लाइनमा परेको चट्याङले क्षति गरेको स्थानीयले बताएका छन्। चट्याङ लागेर सुर्नया गाउँपालिका–६ खर्काधारका प्रकाश अवस्थीको एउटा भैँसी मरेको छ भने धुलिधारमा ६ ओटा पशुचौपाया मरेका छन्।
चट्याङले धुलिधारमा स्थानीय पदमराज अवस्थीको एउटा बाख्रो र एउटा बाच्छो, कृष्णदत्त अवस्थीको एउटा गोरु, हरिदत्त अवस्थीको एउटा बाख्रो, लिलाधर अवस्थीको एउटा बाख्रो र दामोदर अवस्थीको एउटा राँगो मरेको प्रहरी प्रवक्ता पाण्डेयले बताए।
शनिवार चट्याङ लागेर घाइते भएका शिवनाथ–२ पोखराका ४ जना उपचारपछि घर फर्किएका छन्।
स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ वर्षीया पवानी दमाई, बुहारी २० वर्षीया कविता दमाई, १३ वर्षीय छोरा लोक दमाई र ११ वर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका थिए।
घाइते सबैजनाले पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार गराएर घर फर्किएको प्रहरी निरीक्षक पाण्डेयले बताए।