झापा, १४ पुष २०८१ । लागूपदार्थ सेवन गरेर चालक र सहचालकले सवारीसाधन चलाउँदा काँकडभिट्टाबाट धरान तथा विराटनगर चल्ने धेरै सार्वजनिक सवारी साधनहरू दुर्घटनामा परेको चेकजाँचबाट पुष्टि भएको छ ।
चालक र सहचालकहरूले लागूपदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासोका आधारमा त्यस्ता सवारी साधनलाई लक्षित गरी ट्राफिक प्रहरीले गरेको चेकजाँचमा आधा जति सवारी साधनका चालक र सहचालकहरूले लागूपदार्थ सेवन गरेको भेटिएको हो । खास गरी काँकडभिट्टाबाट धरान तथा विराटनगर चल्ने सार्वजनिक सवारी साधन दुर्घटनाको एउटा महत्त्वपूर्ण पक्ष लागूपदार्थको प्रयोग भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताए ।
दुई दिनअघि कमल गाउँपालिका– ३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा चालकहरूको स्वास्थ्य परीक्षण तथा लागूपदार्थ सेवन परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । त्यसक्रममा १४ जनाले लागूऔषध सेवन गरेको भेटिएको थियो । दुर्घटनाका विविध कारणमध्ये लागू औषधको प्रयोग महत्त्वपूर्ण कारण भएको प्रहरी निरीक्षक पौडेलले बताए । शङ्कास्पद चालक र सहचालकहरूको पिसाबलाई किट परीक्षण गर्दा १४ जनामा पोजेटिभ भेटिएकाले उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक पठाइएको पौडेलले जानकारी दिए ।
लागूपदार्थ सेवन गर्नेहरूमा सार्वजनिक बस चालक ४ जना, सहचालक ६ जना, इभी चालक २ जना , सहचालक एक जना र मोटरसाइकल चालक एक जना रहेका छन् । उमेर समूहअन्तर्गत त्यस्ता चालक र सहचालकहरू १८ वर्षदेखि ५० वर्षसम्मको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए । आशङ्कित २८ जना सवारी चालक र सहचालकहरूको पिसाब परीक्षण गर्दा प्रारम्भिक नतिजामा १४ जनामा लागूपदार्थ सेवन पोजेटिभ देखिएको सोडारीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दमक र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा कमल गाउँपालिका र लायन्स क्लब अफ दमक स्वीट सिटी/ स्टन लाइनको समन्वयमा गरिएको उक्त कार्यक्रममा चालकहरूको रक्तचाप, आँखा तथा कान परीक्षणसमेत गरिएको थियो ।
झापामा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासोसँगै दुर्घटनासमेत बढ्दा त्यसको नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच सुरु गरेको हो । तर, झापामा यसले नियमितता पाउन सकेको छैन । लागूपदार्थ सेवन ९लापसे० परीक्षण गर्ने किट महँगो पर्ने र पर्याप्तरुपमा नभएका कारण यसलाई निरन्तरता दिन नसकिएको जनाइएको छ ।