जेबि खड्का
गौरादह, १३ पुष २०८१ । गौरादह नगर खेलकुद परिषद्को आयोजनामा संचालन भएको महिला तथा पुरुष भलिबलमा पुरुष तर्फ वडा नं.४ र महिला तर्फ वडा नं.५ बिजयी भएका छन।
शनिबार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ वडा नं.४ ले वडा नं ७ लाई र महिला तर्फ वडा नं.५ ले वडा नं.७ लाई पराजित गर्दै बिजय भएका हुन। महिला तथा पुरुष भलिबल खेलमा सुरुवाती समय देखि फाइनल सम्म आइपुग्दा वडा नं.७ को उत्कृष्ट प्रदर्शन रहेको थियो। महिला तथा पुरुष दुबै तर्फ वडा नं.७ फाइनलमा पुगे पनि दुबै तर्फ उपाधी हात पार्नबाट चुकेको छ। महिला तर्फ वडा नं.५ कि हिरा खड्का र पुरुष तर्फ वडा नं.४ का हिमाल खड्काको उत्कृष्ट प्रदर्शन रहेपछि महिला तथा पुरुष दुबै तर्फ वडा नं.७ पराजित हुन पुगेका छन। महिला तर्फ वडा नं.५ ले वडा नं.७ लाई २५-१९ , २५-१७ र २५-१७ को सोझो सेटमा पराजित गरेको छ। पुरुष तर्फ वडा नं.४ ले वडा नं.७ लाई २७-२५, २५-१५, २५-२३ , २५-२३ र २७-२५ को सेटमा पराजित गरेको थियो।
जितसँगै प्रथम हुने पुरुष भलिबल टिमले कर सहित नगद ३१ हजार, दोस्रो हुने टिमले २१ हजार र महिला तर्फ पहिलो हुने टिमले २१ हजार र दोस्रो हुने टिमले १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन। भलिबल खेलको फाइनल खेल सम्पन्न भएसँगै खेल अवधिभर उत्कृष्ट खेलाडी, सटर,लिफ्टर र लिब्रोलाई समेत पुरस्कृत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका खेलकुद संरक्षक तथा मेयर छत्रपती सुवेदीले समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकामा खेल क्षेत्रको बिकास गर्न र खेलाडीहरुलाई खेल प्रति अभिरुचि जगाउन प्रत्येक बर्ष खेल खेलाइने गरेको बताएका छन। उपमेयर जलबर्षा राजवंशी चौधरीले नगरपालिका भित्र रहेका खेल प्रेमी खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउन र खेलाडी छनौट गर्न खेल आयोजना गरिएको बताएकी थिईन।
कार्यक्रमको सभापति समेत रहेका गौरादह नगर खेलकुद परिषद अध्यक्ष दुर्गामणी बस्नेतले स्थानीय सरकारले खेल क्षेत्रको बिकासका लागि नगरपालिका भित्र खेलमैदान निर्माणकालागि पहल गरिरहेको बताएका छन। महिला भलिबल खेलाडी हिरा खड्काले गौरादह नगरपालिकाको अन्य पालिका तथा राष्ट्रमा पहिचानका लागि खेलको बिकास, खेलाडीलाई प्रोत्साहनका साथै खेल क्षेत्रको बिकासका लागि स्थानीय सरकारको ध्यान जान जरुरी रहेको बताएकी छन। खेलकुदमा खेलाडीलाई प्रोत्साहन गर्न स्थानीय सरकारले खेलका बिधा अनुसरका प्रशिक्षक राखेर प्रशिक्षण गर्दा उत्कृष्ट खेलाडी उत्पादन हुने महिला खेलाडी प्रिया कार्की बताउँछिन्। आफुले चाहे अनुसारको खेल खेल्न घरपरिवारबाट समेत सहयोग पाएकाले खेलाडीलाई प्रत्साहन हुने कार्यक्रम स्थानीय सरकारले अगाडि बढाएमा नगरपालिका भित्र सोचे अनुसारका खेलाडी हुने महिला भलिबल खेलाडी हिमा बस्नेत बताउँछिन्।