झापा, १२ पुष २०८१ । केही दिनअघि नेपालका राष्ट्रिय कलाकारहरुको वैवाहिक सम्बन्ध किन टिक्दैन भनेर एउटा अनलाइनमा समाचार प्रकाशित भयो । त्यसलाई पढेर झापाका पत्रकारहरुको घरजमको अवस्थालाई नियाल्दा त्यति धेरै फरक पाउन सकिएन ।
कलाकारहरुजस्तै झापाका पत्रकारहरुको पनि वैवाहिक सम्बन्ध टिक्न नसकेको उदाहरणहरु देखिएका छन् । बढ्दो सम्बन्ध विच्छेद गर्ने सामाजिक परिवेशबाट पत्रकारहरु पनि अछुतो रहन सकेका छैनन् । एकजनासंग जिन्दगी बिताउन नसकेपछि धेरै पत्रकारहरुले सम्बन्ध विच्छेद गरी अर्कोसंग वैवाहिक सम्बन्ध कायम गरेर जीवनयापन गरिरहेको पाइएको छ भने धेरै पत्रकारहरु अविवाहित नै रहेका छन् ।
झापाली पत्रकारहरुको सम्बन्ध विच्छेदको सूची लामै छ —कृष्ण हुमागाँई , रंजित प्रसाई , हिमाल खरेल, विनोद पाण्डे ,ज्ञानेन्द्र निरौला ,भुपेन्द्र तिम्सिना , मायामितु न्यौपाने, भरत प्रसाई , प्रणित पुडासैनी , राजकुमार ओली , अनुशा चुडाल , भेषराज नेपाल , विष्णुकुल श्रेष्ठ , सुरेश आले , डिल्लीराम घोर्साईलगायत थुप्रै पत्रकारहरुको वैवाहिक सम्बन्ध नटिकेको देखिन्छ । केही पत्रकारहरुले भने कान्छी श्रीमती भित्र्याएपनि जेठीसंग सम्बन्ध विच्छेद गरेका छैनन् ।
एउटै पेशामा रहेकासँग सम्बन्ध बनाउनेदेखि अलग पेशासँग घरबार बसाउनेसम्मको सम्बन्ध बिग्रिएको छ । पत्रकारको सम्बन्ध नटिक्नुको पछाडि धेरै अवस्थाले भूमिका खेलेको पाइन्छ । श्रीमान– श्रीमतीबीचको समझदारीले उनीहरुबीचको सम्बन्ध टिकेको हुन्छ । शंका, सफलता,असफलता, परिवारलाई समय नदिनु र अन्यत्र सम्बन्ध बन्नु आदि अवस्था वा कारणले वैवाहिक सम्बन्ध बिग्रिएको कारणहरु छन् ।
अझै अविवाहित
झापाली पत्रकारहरुको वैवाहिक सम्बन्ध बिग्रिएका घटना मात्र छैनन्, धेरैले विवाह नै गरेका छैनन् । उमेर पुगिसक्दा पनि विवाह नगर्ने पत्रकारहरु धेरै छन् । विशाल नेम्बाङ, रेजिना रोदन , देविका अधिकारी , मनकुमार शर्मा , सरोज पौडेल,मनकुमार गदाल , तिलक योञ्जन , नरेश गुरुङ, दिलिप थापा , भूमिका सुब्बा , कृष्ण सिंजाली, रविकिरण बान्तवा, आयुष निरौला, रोशन भट्टराईलगायतका पत्रकारहरु अविवाहित छन् ।
जोडी नै पत्रकारितामा
श्रीमान–श्रीमती नै पत्रकारिता पेशामा रहेका जोडी पनि झापामा थुप्रै छन् । एउटै पेशामा रहेकाहरुको घरजम राम्रै चलिरहेको देखिएपनि केहीको असफल भएको घटना पनि छ । लीला अनमोल– देवेन्द्र प्रसाई, हिमाल खरेल –विनिशा गौतम , रमा दाहाल– खगेन्द्र भण्डारी , रोहित काफ्ले– गंगा बराल , मोहन काजी– अम्बिका भण्डारी, राजु पाठक– पुजनकुमारी आचार्य ,सिर्जन घिमिरे– अस्मिता साखी,रमेश तिवारी– किरण हुमागाँई , राजु पौडेल– चन्दा भट्टराईलगायतका जोडी पत्रकारितामा रहेका छन् ।
दुईजना नै एउटै कर्ममा रहँदा दैनिकी सहज भएको पत्रकार हिमाल खरेल बताउँछन् । ‘पेशा एउटै भएपछि एकापसमा अन्डरस्ट्यान्डिङ हुन्छ ’उनले आफ्नो भोगाई सुनाए ।
श्रीमान सिर्जन घिमिरेसंग पत्रकारिता गरिरहेकी अस्मिता साखीको बुझाई पनि त्यस्तै छ । उनी भन्छिन् ,‘एउटै क्षेत्रको जीवनसाथी भएपछि राम्रोसंग बुझेको हुन्छ र करिअर बनाउन सहयोग पनि गर्नुहुन्छ । ’प्रतिदिनडेलीबाट