झापा, ११ पुष २०८१ । आठ महिना यता आफूहरुले बिक्री गरेको दूधको मूल्य नपाउँदा कोशी प्रदेशका किसानहरु समस्यामा पर्न थालेका छन् । दुग्ध विकास संस्थानले गएको वैशाख महिना यताको करिब १९ करोड बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ ।
लामो समय यता दैनिक बिक्री गरेको दूधको रकम नआउँदा दूध बेचेर घर चलाउने किसानहरु बढी समस्यामा परेको कृषक समुहले जनाएको छ । “आठ महिना १५ दिन बित्न लाग्यो, किसानहरुले उधारोमा दूध दिएको तर डिडिसीले एक रुपियाँ पनि दिएको छैन किसानहरुले कसरी छाक टार्ने ?“ राष्ट्रिय कृषक समुह महासंघ इलामका संयोजक राम मगरले भने, “अस्ति म आफैं पनि काठमाडौं गएर कृषि मन्त्रीलाई किसानको समस्या राखें, अब चाँडै दूूधको रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाउनु भयो तर अहिलेसम्म सरकार पनि चुपचाप छ, डिडिसी पनि ।“
दैनिक उत्पादन हुने दूध अब डिडिसीलाई नै दिने कि अन्य कुनै नीजि सहकारी तथा संस्थाहरुलाई किसाननै अलमलमा रहेको संयोजक मगरको भनाइ छ । यसअघि गएको कात्तिक महिनामा कोशी प्रदेशका किसानहरुले कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत् रकम भुक्तानीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । तर ज्ञापन पत्र प्रति पनि कृषि तथा पशुपन्छी विकास मन्त्री र मन्त्रालयले नै खास चासो नदिएको किसानहरुको गुनासो छ ।
दुग्ध विकास संस्थान (डिडिसी) को तथ्याकं अनुसार कोशी प्रदेशमा वार्षिक उत्पादन पाँच लाख ७५ हजार ५०४ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । आयोजनाले इलामबाट आठ हजार लिटर, झापाबाट पाँच हजार लिटर, धनकुटाबाट छ हजार लिटर, तेह्थुमबाट दुुई हजार लिटर, आसपासका किसानबाट एक हजार लिटर, तथा अन्य आयोजना डेरी, नीजि फामबाट १५ हजार लिटर दूूध लिने गरेको जनाइएको छ । इलाममा मात्र डिडिसीलले चार लाख २८ हजार ६४ लिटर दूधको दुई करोड ८२ लाख ५२ हजार २२४ रुपियाँ किसानको रकम दिन बाँकी रहेको जनाइएको छ ।