काठ्माडौं, १० पुष २०८१ । नेपाल एप्लाइड म्याथम्टिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले बुधबार एनुअल नेपाल एआई स्कुल (एएनएआइएस) को आयोजना गर्ने घोषणा गरेको छ।
यो ११ दिने शैक्षिक कार्यक्रम यस वर्ष पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ। यो कार्यक्रमको पाँचौं संस्करण आर्टिफिसियल एन्टिलिजेन्सको आधार र कार्यान्वयनहरूमा केन्द्रित छ।
संसारभरबाट वैज्ञानिक, प्राध्यापक, र सहभागीहरूलाई एआईसम्बन्धी गहन व्याख्यान, प्रयोगशाला र परियोजना कार्यका लागि एकै ठाउँमा ल्याउने एएनएआइएस दक्षिण एसियाकै सबैभन्दा ठूलो र पृथक मञ्च हो।
नामिका अनुसार यो एएनएआइएसले आधारभूतदेखि आधुनिक विचार र विधिहरूसम्मका विषयवस्तु तथा अनुप्रयोगहरूलाई समेट्नेछ।
कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा आयोजना हुँदैछ। यस कार्यक्रममा कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर, र पिएचडी तहका २०० विद्यार्थी तथा एआई क्षेत्रमा काम गर्ने प्रोफेस्नलहरू सहभागी हुन सक्नेछन्।
विगत चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका छन्।
सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कुलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ।
विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले ‘जियोमेट्रिक डिप लर्निङ, फाउन्डेसनल मोडल्स एण्ड एप्लिकेसन र मोर्डन प्राक्टिस’ गरी मुख्य तीन क्षेत्रमा भौतिक कक्षाहरू सञ्चालन गर्नेछन्।
यो कार्यक्रम दक्षिण एसियामा उत्कृष्ट अन्तर्राष्ट्रिय विशेषज्ञहरूबाट सिक्ने र अन्तर्क्रिया गर्ने सुनौलो अवसर रहेको नामिका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालले जानकारी दिए।
नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा यो कार्यक्रमले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्याउने उनको भनाइ छ।
यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, युके इन्टरनेसनल डेभलपमेन्ट, एसिया फाउन्डेसन, डेटा फर डेभलपमेन्ट इन नेपाललगायतका साझेदारहरूको साझेदारी प्राप्त भएको छ।