झापा, ९ पुष २०८१ । झापाको बिर्तामोडमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा फाइरिङ गर्दै कुदाउने ७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त टोलीले साइलेन्सर परिवर्तन गरी ठूलो आवाजका साथ ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई दुई दिनमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकलहरुमा बुलेट , एनएस , बेनेली , ड्युक, पल्सरलगायत रहेका छन् ।
साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमख, प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनले एक महिनामा त्यस किसिमका ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही गरिएको बताए । लापरवाही तरिकाले ध्वनि प्रदूषण गरी चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिई कार्वाही र जरिवाना गरिएको उनले जानकारी दिए । साइलेन्सर बिगारेर चलाइएका ती मोटरसाइकलको साइलेन्सर निकालिएको छ । फेरि पनि त्यसरी नै चलाए यातायात व्यवस्था कार्यालयमा कार्वाहीका लागि पठाउने पौडेलले जानकारी दिए ।
दिउँसोभन्दा रातिको समयमा गोलीको जस्तो ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल कुदाउँदा बिर्तामोडबासी आतंकित भएका छन् । एकपछि अर्कोको सिको गर्दै युवाले त्यसरी मोटरसाइकल कुदाउन थालेका छन् ।
तीब्र गतिमा फाइरिङ गर्दै कुदाउने युवालाई नियन्त्रणमा लिन प्रहरी टोली नै परिचालन गरिएको छ । मानिसहरु राति सुत्ने बेलामा आगोको झिल्का निकालेर ठूलो आवाजका साथ फाइरिङ गर्दै मोटरसाइकल चलाउने गरेको पाइएको छ । प्रहरीले त्यस किसिमको मोटरसाइकल नियन्त्रणमा लिने अभियानलाई जारी राखेको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।