काठमाडौं, ४ पुष २०८१ । त्रिवि सेवा आयोगले नयाँ शिक्षक र कर्मचारी भर्नाका लागि विज्ञापन खुलाउने तयारी गरेको छ ।
आयोगका अध्यक्ष प्राडा घनश्याम भट्टराईका अनुसार खुला, आन्तरिक, बढुवा सबै तहमा विज्ञापन खुलाउन लागिएको हो ।
त्रिविको कार्यकारी परिषद्बाट कति शिक्षक कर्मचारी आवश्यक पर्ने हो सो को विवरण आएपछि विज्ञापन खुलाउने अध्यक्ष भट्टराईले बताए ।
‘धेरै समय भयो खुलेको छैन । रिक्त ठाउँमा पनि पदपूर्ति गर्नुपर्ने छ । छिट्टै विज्ञापन खुलाउँछौं,’ उनले भने, ‘रिटार्यड हुने शिक्षक कर्मचारीको संख्या बढिरहेको छ ।’
कार्यकारी परिषद्ले निर्णय गरे लगत्तै विज्ञापन खुलाउने उनले बताए । आयोगले २०७६/७७ मा खुलाएको विज्ञापनको गत मंसिरमा परीक्षा भएको छ । सो समयमा ८ हजार बढीले आवेदन दिएका थिए । तर, परीक्षा ढिला हुँला ३ हजार हाराहारीले मात्र परीक्षा दिएको अध्यक्ष भट्टराईले बताए ।
‘कहिले आंशिक, कहिले समावेशीको विषयले अदालतमा मुद्दा पनि पर्यो । बल्ल परीक्षा भएको छ । ढिला परीक्षा हुँदा कम आवेदकले परीक्षा दिएका छन् । अब नतिजा सार्वजनिक भएपछि अन्तर्वार्ता हुन्छ,’ उनले भने ।
कर्मचारीका लागि पनि लामो समयदेखि विज्ञापन नखुलेकाले यसपटक खुलाउन लागिएको उनले बताए ।