झापा, २८ मंसिर २०८१ । स्रोत नखुलेको २९ हजार ७ सय अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । गौरादह नगरपालिका-५ का २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका –३ केर्खा चोकस्थित पूर्वपश्चिम राजमार्गमा बिहीवार (हिँजो) दिउँसो २ बजेको समयमा दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् । मियाले साथमा बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० (बिहीवारको नेपाली दररेट १ डलरको १३५.८२ अनुसार रु.४०,३३,८५४) फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।