सर्लाही, २३ मंसिर २०८१ । विश्वका विभिन्न २३ देशका कृषियन्त्र परीक्षण केन्द्रमा कार्यरत इन्जिनियर सर्लाही आइपुगेका छन् ।
शनिबारदेखि मङ्सिर २५ गतेसम्म नवलपुरस्थित कृषियन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रमा आयोजित तालिममा सहभागी हुन ती देशका इन्जिनियर सर्लाही आइपुगेका हुन् । तालिमको शनिबार बिहान उद्घाटन गरिएको छ ।
सार्कका आठ राष्ट्रसहित चीन, रुस, भियतनाम, मलेसिया, थाइल्यान्ड, कम्बोडिया, उज्बेकिस्तानसहित २३ देशका इन्जिनियर तालिममा सरिक हुन यहाँ आइपुगेका कृषियन्त्र परीक्षण तथा अनुसन्धान केन्द्रका प्रमुख रामनाथ झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक यति धेरै देशका इन्जिनियर भेला भएर कृषियन्त्र परीक्षणसम्बन्धी तालिम सञ्चालन हुन लागेको हो ।