Online Bichar
बिहिबार, मंसिर २०, २०८१ | Thursday, December 5, 2024

काठमाडौं, १९ मंसिर २०८१ । विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेटले हरायो ।

तीन खेल खेलेको विराटनगरको यो पहिलो जित हो । लुम्बिनीले हारबाट खेलको सुरुवात गरेको छ । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको थियो ।

जितका लागि एक सय ९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १९.५ ओभरमा आठ विकेटको क्षतिमा एक सय ९३ रन जोड्दै लक्ष्य पूरा गरेको हो । विराटनगरका लागि ओपनर लोकेश बमले सर्वाधिक ७१ रन बनाउनुभयो । उहाँले ४७ बलमा तीन चौका र ६ छक्काको सहयोगमा अर्धशतकीय रन बनाउनुभयो । लोकेश प्लेयर अफ दिन म्याच हुनुभयो ।

यस्तै सिर अहमदले ४०, मार्टिन गुप्टिलले २८ र चेरिस सोलले अविजित १४ रन जोड्दै टोलीलाई जिताउनुभयो । बलिङमा लुम्बिनीका दुर्गेस गुप्ताले तीन विकेट लिनुभयो । सद विन जफर र रामोन सिमोन्ड दुई दुई तथा विवेक यादवले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो । यो जारी लिगको सर्वाधिक ठुलो योगफल हो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४६ रन बनाउनुभयो । उहाँले २९ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै टम मोर्सले ३०, विवेक यादवले अविजित १९, ओपनर अर्जुन साउदले १७, आशुतोष घिरैया र साद बिन जफरले १५र१५ र सन्दीप जोराले १२ रन बनाउनुभयो ।

बलिङमा विराटनगरका इस्मत अलाम, राजन पुलामी र कप्तान सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो ।

 

तपाईको प्रतिक्रिया