काठमाडौ, १७ मंसिर २०८१ । ४१ पदमा भएको स्थानीय तह उपनिर्वाचनमध्ये तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको निर्वाचन आयोगले जनाएको छ ।
नतिजा आउन बाँकी स्थानीय तहमा कीर्तिपुर नगरपालिका, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ मतगणना जारी छ ।
जारी मतगणनामा कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् भने दोलखाको गौरिशंकरमा माओवादी उम्मेदवार र वेलकाको प्रारम्भिक मतगणनामा माओवादीको अग्रता रहेको छ । यस्तै, कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले अग्रता बढाएका छन् ।
डंगोलले २ हजार ९३० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले २ हजार ३८४ मत पाएका छन् । मानन्धरभन्दा डंगोल ५४६ मतले अगाडि छन् ।
नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले २ हजार १०१ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले एक हजार ११३ मत पाएका छन् ।
दोलखाको गौरिशंकर गाउँपालिकाको मतगणनाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । सो गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना गर्दा माओवादी केन्द्रकी निमलेकी शेर्पाले १३८४ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एमालका उम्मेदवार उमा लुङ्गेली मगरशेर्पाले १०१२ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार पासदिकी तामाङ ७९३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका ७ र स्वतन्त्रका ९ गरि १६ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । कुल १५ हजार ७१८ मतदाता रहेको उक्त गाउँपालिकामा आइतबार सम्पन्न मतदानमा ७ हजार ५९० मत खसेको थियो ।
यस्तैगरी, राजनीतिक दलका प्रतिनिधिबिचको विवादका कारण रोकिएको उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना अझै सुरु हुन सकेको छैन ।
गएराति ५ सय मत गनिसकेपछि सदर–बदर मतबारे दलहरूबिच विवाद भएको थियो । विवादपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताले जानकारी दिए । सोमबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि निर्वाचन आयोगको निर्देशन कुरिरहेको अधिकृत गुप्ताले जानकारी दिए ।
‘सहमति नजुटेपछि अव आयोगको निर्देशन जे हुन्छ सोही अनुसार अघि बढ्छौ’, गुप्ताले भने ।रातोपाटीबाट