Online Bichar
मंगलबार, माघ १५, २०८१ | Tuesday, January 28, 2025

काठमाडौं, २६ कार्तिक २०८१ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ७ बमोजिम निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।

आयोगका अनुसार ३२ जना जिल्ला न्यायाधीशहरू मुख्य निर्वाचन अधिकृतको पदमा र ६ जना राजपत्रतांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा आजदेखि लागू हुनेगरी नियुक्त गरेको हो।

काठमाडौं महानरपालिका-१६ को मुख्य निर्वाचन अधिकृतमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेल तोकिएका छन्। काठमाडौं महानगरपालिका-१६ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।

यसैगरी आयोगले कीतिपुर नगरपालिकाको उपचुनावका लागि सर्वोच्च अदालतका उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृत तोकेको छ। कीर्तिपुर नगरपालिकाका मेयर,वडा नम्बर १ र ४ को वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। यसैगरी आयोगले अन्य स्थानमा पनि निर्वाचन अधिकृत र अधिकृतहरू तोकेको छ।

कार्त्तिक ३० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यसम्पादन हुने आयोगले जनाएको छ। स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।

आयोगले स्थानीय तह उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वन गरेको छ।

तपाईको प्रतिक्रिया