काठमाडौं, २१ कार्तिक २०८१ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को प्रकोप बढ्दै गएको छ । परिवार कल्याण महाशाखाको अनुसार यसवर्ष जेई संक्रमणले १५ जिल्लाका २३ जनाको मृत्यु भएको छ ।
देशभर ३० जिल्लामा फैलिँदा ८० जना संक्रमित फेला परेका छन् । ९१५ शंकास्पद बिरामीको नमुना परीक्षण गरेको महाशाखाले जनाएको छ । यो परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै हुँदै आएको छ ।
महाशाखाका अनुसार, संक्रमितमध्ये २८.७५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमा अधिकांश १५ वर्षमुनिका बालबालिका रहेको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।
जापानिज इन्सेफ्लाइटिसबाट सबैभन्दा बढी प्रभावित जिल्ला कैलालीमा ३ जना संक्रममितको मृत्यु भइसकेको छ । कपिलवस्तु, रौतहट, सिराहा, सुनसरी र झापामा दुई–दुई जनाको मृत्यु भएको छ । रुपन्देही, पाल्पा, चितवन, काठमाडौं, पर्सा, सर्लाही, नवलपरासी, सिन्धुली र धनुषामा एक–एक जनाको मृत्यु भएको छ ।
मृत्युदर उच्च
नेपालमा जापानिज इन्सेफ्लाइटिसको मृत्युदर बढेर २८ प्रतिशत पुगेको छ । खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्दा स्वास्थ्य विज्ञहरू चिन्तित व्यक्त गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको छ ।
सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार एसियामा वार्षिक करिब एक लाख मानिस यस रोगबाट प्रभावित हुने गरेका छन् । विशेषगरी १५ वर्षमुनिका बालबालिकामा जेई बढी देखिने र मृत्युदर ३० प्रतिशतसम्म पुग्न सक्ने संगठनले जनाएको छ ।
‘यति थोरै केसमा धेरै मृत्युदर हुनु चिन्ताको विषय बनेको छ,’ डा। गौतमले अनलाइनखबरसँग भने, ‘खोप नलिएका वर्गको बढी मृत्यु भइरहेको छ ।
महाशाखाको तथ्यांक अनुसार १५ वर्षभन्दा मुनि ४२ जनामा र १५ वर्षभन्दा माथि ३८ जना संक्रमित भएका छन् ।
डा. गौतमका अनुसार जेष्ठ नागरिकको बढी मृत्यु भइरहेको छ । उनीहरुले जेईको खोप लगाएका छैनन् । ‘खोप नै मुख्य सुरक्षा हो । धेरैजसो मृत्यु खोप नलगाएकै कारणले भएका छन्,’ डा। गौतमले थपे, ‘यसवर्ष १५ वर्ष माथिका १५ जनाको मृत्यु भएको छ ।’
सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।
खोप शाखाका प्रमुख डा. गौतमका अनुसार सन् १९९९ मा पाँच जिल्लाबाट सुरु भएको खोप अभियान २००९ सम्ममा २० जिल्लामा विस्तार गरिएको थियो ।
गौतमका अनुसार खोप नलगाएका, पहाडबाट तराई झरेका र पहिलेको खोप अभियानमा छुटेका व्यक्तिहरू उच्च जोखिममा रहेका छन् ।
संक्रमित चरा र सुँगुरबाट लामखुट्टे मार्फत मानिसमा सर्ने यो रोगका लक्षणहरूमा उच्च ज्वरो, मुर्छा, घाँटी अरर हुने, भ्रम, बोल्न नसक्ने र मांसपेशी कमजोर हुने वा पक्षाघात समेत हुन सक्छ ।
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।
माछा मार्ने, बागबानी, क्याम्पिङजस्ता काममा खटिने, सुँगुर पाल्ने स्थानमा काम गर्ने वा नजिकै बस्ने मानिसहरू थप सतर्क हुनुपर्ने डा। गौतमले बताए ।
‘लामो समयसम्म सुँगुर, हाँसमा संक्रमण रहिरन्छ । त्यसकारण जनावरको बस्ने बास्थानमा सरसफाइ र झुलको प्रयोग गर्ने हो भने सुरक्षित हुन सकिन्छ,’ डा. गौतम भन्छन् ।
संक्रमित चरा र सुँगुरबाट लामखुट्टेमार्फत मानिसमा सर्ने यो रोगका लक्षणहरूमा उच्च ज्वरो, मुर्छा, घाँटी अरर हुने, भ्रम, बोल्न नसक्ने र मांसपेशी कमजोर हुने वा पक्षाघात समेत हुन सक्छ ।
जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।
यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस बढी जोखिममा हुन्छन् । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।
संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, मांसपेशी कडा हुनु, अचेत हुनु लक्षण हुन् ।
यसको विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ । तर यो भाइरस विरुद्धको खोप भने उपलब्ध छ ।
मनसुनको समयमा यो रोगको जोखिम बढी हुने हुन्छ । वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ । ‘साउन, भदौ, असोजमा महिना जेइ को संक्रमणदर उच्च हुन्छ । जाडो महिनामा बिस्तारै संक्रमणका केस घट्दै जान्छन्,’ उनले भने ।
जेईको नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।
चिकित्सकका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने,घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।