Online Bichar
मंगलबार, माघ १५, २०८१ | Tuesday, January 28, 2025

काठमाडौं, २१ कार्तिक २०८१ । आईसीसी यू-१९ महिला टी२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराउँदै सुखद सुरुवात गरेको छ ।

कप्तान पुजा महतोको अलराउण्ड प्रदर्शन अनी रचना कुमारी चौधरीको ४ विकेट मदतमा नेपालले थाइल्याण्डमाथि सहज जित निकालेको हो । यस जितपछि नेपालले सन् २०२२ मा यू१९ विश्वकपकै छनोटमा थाइल्याण्डसँग व्यहोरेको हारको बदला समेत लिएको छ ।

दुबईमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रनमै अलआउट भयो । थाइल्याण्डका लागि ओपनर तथा कप्तान अफिसारा सुवानचोनराथीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्याण्डलाई अलआउट गर्न नेपालका रचना कुमारीले ३ ओभरमा १० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान पुजा महतोले ३ ओभरमा १ मेडन राख्दै ३ रन मात्र खर्चेर २ विकेट लिइन् । रिया शर्माले ४ बल बलिङ गर्दा कुनै रन निदई २ विकेट लिइन् । कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले समान १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको थियो । कप्तान पुजाले सर्वाधिक ३५ रन बनाइन् । उनले ४० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरिन् । यस्तै सोनी पाख्रिन र सिमा केसीले समान १९ रन योगदान गरे । सिमा नटआउट रहिन् । थाइल्याण्डका लागि चारुकान साइमाले २ विकेट लिइन् । नेपालले बिहीबार आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया