Online Bichar
मंगलबार, कार्तिक ०६, २०८१ | Tuesday, October 22, 2024

काठमाडौं, ५ कार्तिक २०८१ । तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आगामी मंसिर १४ र १५ गते काठमाडौंमा आयोजना हुने भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो।

सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित रहेको प्याब्सनले जनाएको छ।

त्यस्तै विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा सम्मेलनका क्रममा छलफल हुने प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले बताए।

उनले केन्द्रपछि प्रदेशमा समेत शैक्षिक सम्मेलन गर्ने जानकारी दिए। नेपालमा पनि शिक्षा क्षेत्र राम्रो छ भन्ने सन्देश दिनका लागि पनि सम्मेलनको आयोजना गर्न लागिएको उनको भनाइ छ।

शैक्षिक सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्ने आयोजकले जनाएको छ। सम्मेलनमा भुटान, पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिता हुने प्याब्सनले जनाएको छ।

 

तपाईको प्रतिक्रिया