बिर्तामोड, २१ असोज २०८१ । चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले नगद एक लाख एक हजार र ट्रफी पाए ।
तेस्रो भएका दिवस श्रेष्ठले नगद ७६ हजार र ट्रफी पाए । ६० केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् । त्यस्तै, चौथो भएका प्रकाश सुनारले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । ५५ केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् । पाँचौँ भएका विक्रम मेचेले नगद ३६ हजार र ट्रफी पाए । ७० केजी माथिका उनी ग्यालेक्सी फिटनेसका हुन् । प्रतियोगिताअन्तर्गत व्यक्तिगततर्फ वेस्ट मस्कुलरमा बडी ग्यारेजका प्रेम राजवंशी विजेता बने भने वेस्ट पोजरतर्फ यारो फिटनेसका मिङसो लिम्बू विजयी भए । उनीहरूले नगद पाँच हजार पाए ।
भद्रपुर रोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गरेको प्रतियोगितामा झापाली खेलाडीहरूलाई मात्र सहभागी गराइएको प्रतियोगिताका अध्यक्ष तथा प्रथम मिस्टर झापा, कलाकार सुवास मेचेले बताए ।
झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले गरेका थिए । प्रतियोगिता आयोजक अध्यक्ष मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र सङ्ग्रौला लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत आयोजक फर्स्ट स्टेप फिटनेसका सञ्चालक धनञ्जय गनगाईले गरेका थिए ।