काठमाडौं, १९ असोज २०८१ । गोरखामा डेंगु संक्रमणले एक महिलाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-७ कुलगाउँकी ४८ वर्षीय निरमाया गुरुङको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।
गत भदौ १० गते एपोलो अस्पताल गोरखामा जाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि एपोलो अस्पतालमा उनको उपचार भएको थियो। स्वास्थ्यमा सुधार नभएका कारण थप उपचारका लागि भरतपुरको मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा शुक्रवार उनको मृत्यु भएको कार्यालयले जनाएको छ।
गोरखामा डेंगुले अहिलेसम्म २ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार साउन १ गते देखि भदौ महिनासम्म ४२२ जनामा डेंगुकोसङ्क्रमण देखिएको उनले बताए।