Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

काठमाडौँ, १८ असोज २०८१ । आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टी–२० विश्वकपको एशिया छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० खेलाडी छनोट गरेको छ।

संयुक्त अरब इमिरेट्समा हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो। छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स ९यूएई०, कुवेत र थाइल्याण्ड छन्।

छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन्।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर छन्।

विश्वकपको एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्नेछ भने कात्तिक २४ गते घरेलु टोली यूएईसँग खेल्नेछ।

नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्नेछ भने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ। नेपालले अन्तिम खेलमा कात्तिक २८ मा यूएईसँग खेल्नेछ।

४ टोली सहभागी रहने उक्त छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेशियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ।

 

तपाईको प्रतिक्रिया