Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

फिदिम, १७ असोज २०८१ । पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ। बुधबार फिदिम नगरपालिका-१ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको संख्या आठ पुगेको हो।

उहाँको शव धनकुटाको मुलघाट नजिकै तमोर नदी किनारा (तेह्रथुमतर्फ) फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

उहाँलाई फिदिम नगरपालिका-१ दुमाहा बेशी नजिकैदेखि बाढीले बगाएको थियो। यसअघि सोही स्थानदेखि खोलाले बगाएर बेपत्ता हुनुभएकी निर्मला राईको शव फलामेटार नजिकै धनकुटामा भेटिएको थियो।

असोज १२ गते गएको बाढी र पहिरोमा परी फिदिम नगरपालिका-१२ की सम्झना शेर्पा, डोल्मा शेर्पा र पास्तिम्बा शेर्पा, फिदिम-१ का गोपी विश्वकर्मा, फिदिम २ की रञ्जना राई र फाल्गुनन्द-५ का नरेन्द्र चेम्जोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल साहले जानकारी दिनुभयो।

पहिरोमा परेका तीन जना हराइरहेका छन्। हालसम्म फिदिम-१ का सरस्वता पन्दाक, कृष्ण दास र फालेलुङ–५ कि ३६ वर्षीया कमला राई बेपत्ता रहेको साहको भनाइ छ।पहिरोमा पुरिएका पाँच जनालाई सकुसल उद्वार गरिएको छ।

बाढी र पहिरोले पाँचथरको सदरमुकाम फिदिम नगरपालिकासँगै फाल्गुनन्द, फालेलुङ र मिक्लाजुङ गाउँपालिका धेरै प्रभावित भएका छन्। विस्थापितको विवरण अझैसम्म संकलन हुन सकेको छैन।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया