झापा, १७ असोज २०८१ । गत सातादेखिको अविरल वर्षाका कारण आएको बाढीमा डुबेर झापामा ६ जनाको मृत्यु भएको छ । तीन जनाको कृष्णे खोलामा डुबेर ज्यान गएको हो भने कनकाई , मेची र जमुनामा एक–एक जनाको मृत्यु भएको हो । गौरीगञ्ज– २ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज– २ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल– १ बस्ने मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो ।
ताजपुरियाले खोलामा हाम फालेका थिए भने न्यौपाने भैँसी बाँध्न जाँदा डुबेर बेपत्ता भएका थिए । चौधरी भने खोलामा माछा मार्न जाँदा बेपत्ता भएका थिए । त्यस्तै स्थानीय जमुना खोलाले बगाएर कचनकवल– १ की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारैजनाको शव लामो खोजतलासपछि मात्र फेला परेको थियो ।
त्यस्तै मेची र कनकाई नदीमा डुबेको अवस्थामा दुई वटा बेवारिसे शव फेला परेको थियो । ती दुवै पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।