Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

काठमाडौँ, १३ असोज २०८१ । लगातार परेको पानीका कारण भित्र्याउन तयार भएको धान भिजेपछि किसानलाई धान कसरी जोगाउने भन्ने चिन्ता छ। प्रमुख खाद्य बाली धान खेतमै डुब्नुका साथै ढलेर उम्रने अवस्थामा छन्।

यद्यपि चैते धानको तुलनामा वर्षे सिजनको धान भिज्ने बित्तिकै उम्रँदैन। वर्षे धान पाकिसकेको छ र केही ठाउँमा काट्न शुरु भइसकेको छ। खेतमा नकाट्दै वा काटिसकेको अवस्थामा भिजेको धान जोगाउन विज्ञको सुझाव यस्तो छ :

धानविज्ञ राजेन्द्र उप्रेती नकाटेको धान अब पानी रोकिएपछि एकदुई दिन पर्खेर मात्र काट्न सुझाव दिन्छन्। ‘सबैभन्दा राम्रो उपाय पानी रोकिन्जेल धान नकाट्ने हो’, उनले भने‚ ‘काटिसकेको छ र भिजेको छ भने त्यसलाई ओभानो ठाउँमा सार्नु नै उत्तम विकल्प हो।’

हावाले लडेको धान पनि तत्काल नकाट्न भन्दै उनले त्यसलाई उठाएर परम्परागत तरिकाअनुसार दुई तीनवटा गाँजलाई एक ठाउँमा बाँध्नुपर्ने बताउँछन्। यसो गर्दा पानी तैरिन्छ र धान उम्रँदैन।

भिजेको धान कसरी भण्डार गर्ने ?

धानविज्ञ उप्रेतीका अनुसार झारेपछि धानलाई तुरुन्तै हावा लाग्ने ठाउँ, ओत भएको ठाउँमा राख्नुपर्छ। थुपारेर राखेको धानलाई फिँजाउने वा दुईतीन घण्टाको अन्तरमा वेलावेला चलाइराख्ने गर्नुपर्छ। चलाएन भने भित्रबाट तापक्रम बढेर उम्रन सक्छ।

चैते धानका पुराना केही जातका धान भिजेको एक दुई दिनमै उम्रन्थे तर वर्षे धान उम्रिहाल्दैन। पानी परिरहेकाले अबको पाँचसात दिन कुरेर धान काटेपछि सकेसम्म खेतको सट्टा आली वा ओभानो ठाउँमा राख्न उनले सुझाए।

भिजेको धानको प्रयोग

धान धेरै भिजेन भने चामलमा खासै असर गर्दैन। ‘तर काटेको धान एकदुई दिन भिज्यो भने त्यसबाट बिउको उमार शक्ति कम हुन सक्छ’, उप्रेती भन्छन्‚ ‘भिजेको धानलाई धेरै दिन एकै ठाउँमा थुपारेर राख्यो भने चामल टुक्रिने, चामलको गुणस्तर घट्ने हुनसक्छ।’ भिजेको धानको चिउरा बनाएर राख्न सकिन्छ। धान उसिनेर भुटेपछि चिउरालाई सुकाएर राख्न सकिन्छ।

भिजेको धान धेरै परिमाणमा हुँदा ठूला मिलमा ड्रायरहरूको सुविधा उपलब्ध हुने भएकाले उनीहरू​सँग समन्वय गरेर त्यो सुविधा लिन सकिन्छ। योसँगै स्थानीय तथा प्रदेश सरकारहरूले पनि मिलहरू सँग समन्वय गरेर भिजेको धानको क्षति न्यूनीकरणमा किसानलाई मद्दत गर्नुपर्ने विज्ञको तर्क छ। ​​​​

क्षतिपूर्तिको व्यवस्था

सरकारले काट्ने वेलाको धान बाढीपहिरो वा वर्षाका कारण हुने नोक्सानी बेहोर्न कुनै क्षतिपूर्तिको व्यवस्था गरेको छैन तर बाली बिमाअन्तर्गत रहेका किसानले अनुदान पाउँछन्।

‘बाली बिमा बाहेक धानमा भएको क्षतिपूर्तिको केही व्यवस्था छैन’, कृषि विभागका उपमहानिर्देशक डा। अरुण काफ्लेले भने‚ ‘बाली बिमा जसले गरेको छ ती किसानले बिमाको क्षतिको आधारमा पाउनुहुन्छ, त्यो बाहेक संघीय सरकारका तर्फबाट क्षतिपूर्तिको केही पनि प्याकेज छैन।’ तर किसानमा सकेसम्म बाली बिमा नगर्ने र क्षति भएपछि कराउने प्रवृत्ति देखिने बताउँछन् धानविज्ञ उप्रेती।

‘धानमा पनि बिमाको व्यवस्था छ, संस्थागत रूपमा खेती गर्नेले धानको बिमा गरेको पाइन्छ’, उनले भने‚ ‘ठूलै मात्रामा प्रिमियमको ८० प्रतिशत सरकारले तिर्नुपर्छ तर बाढी डुबान जस्ता अन्य कारण क्षति भए किसान मारमा पर्ने गरेका छन्।’

स्थानीय रूपमा वा प्रदेशले गरेको भए पनि संघीय सरकारले धानको क्षतिपूर्ति उपलब्ध गराउन सम्भव पनि नरहेको उनको तर्क छ। नोक्सानीको भुक्तानी पनि धेरै हुन जान्छ, क्षति रकम न्यूनतम पनि ठूलो परिमाणमा आउने भएकाले पनि सरकारले धान्न सक्दैन। उप्रेतीले भने‚ ‘यसको विकल्प भनेको संसारको अभ्यास हेर्दा पनि बिमा नै हो तर किसानले धान लगाउने वेला यसतर्फ वास्ता गर्दैनन्।’

कृषि बालीमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि ल्याइएको कृषि, पशुपन्छी तथा जडिबुटी बिमा निर्देशिका, २०७९ ले कृषि उपजमा पर्ने वस्तुहरू अर्थात् कृषि बिमाको व्यवस्था गरेको छ। जसमा अन्नबाली, दलहन, तेलहन, तरकारी लगायतका कृषि बालीको बिमा हुन्छ। धान रोपेको १५ दिनदेखि एक महिनाभित्र बिमा गराउनुपर्ने हुन्छ।

बाली तथा पशुपन्छी बीमा निर्देशनमा बालीको बिमा गर्दा बाली लगाउँदा देखी पाक्दासम्म लाग्ने लागत मूल्य कृषि मन्त्रालयमार्फत उपलब्ध गराएको आधारभूत लागत विवरण बमोजिम हुनेछ भनिएको छ। प्रत्येक कृषकले सुरक्षण गर्न पाउने बालीको न्यूनतम क्षेत्रफल पहाडमा ८ आना (आधा रोपनी) र तराईमा एक कट्ठा हुनुपर्ने र त्यसभन्दा कम क्षेत्रफलमा लगाइएको बालीका लागि बिमा सुविधा हुनेछैन भनी उल्लेख गरिएको छ।

 

तपाईको प्रतिक्रिया