झापा, ११ असोज २०८१ । प्रथम झापा एक–काठमाडौँ कप फुटसल प्रतियोगिता २०८१ सञ्चालन हुने भएको छ । डिएभी स्कुल जावलाखेल,ललितपुरमा हुने प्रतियोगितामा ३० वर्ष मुनिका खेलाडी रहने छन् । उक्त फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन ।
१२ गते शनिवार सञ्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नं. १ का ७ वटा टिम बिच प्रतिस्पर्धा हुने भएको छ । जसमा क्षेत्र नं. १ का साबिकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचीनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगढी बीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगितामा विजेता हुने टिमले २१ हजार नगद सहित ट्रफी र सम्मान पत्र पाउने छन भने दोस्रो हुने टिमले ११ हजार नगद सहित ट्रफि र सम्मान पत्र पाउने आयोजक संस्था झापा १–काठमाडौँ सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए ।
उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारवीच रोमाञ्चक मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन,काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा,एमाले नेता अग्नि खरेल, एलपी साँवा, सहितका नेताहरू खेल्दै हुनुहुन्छ भने कलाकारका तर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विलसन विक्रम राई,टीका भण्डारी,प्रकाश सुवेदी,हेमन्त बुढाथोकी लगायत भिड्दै छन् । सो अवसरमा सभामुख देवराज घिमिरे र काँग्रेस नेता कृष्ण सिटौलाको पनि उपस्थिति हुने छ ।
साथै पेसा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं. १ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौँ आइ बसोबास गर्ने,व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरी उक्त खेलको आयोजना गरिएको छ ।
बडा दसैँ,तिहार,नेपाल सम्वत र छठको शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा झापा १ संघीय सांसद सचिवालय र नेपाली काँग्रेस झापा १–काठमाडौँ सम्पर्क समितिले संयुक्त रुपमा प्रतियोगिताको आयोजना गरेको हो ।