Online Bichar
सोमबार, आश्विन ०७, २०८१ | Monday, September 23, 2024

झापा, ६ असोज २०८१ । अत्यधिक गर्मीका कारण झापासहित पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण मानिसहरू ढल्न थालेका छन् ।

चार दिनअघि गिरीबन्धु टी ई स्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले ती महिलाले मादक पदार्थ सेवन गरेकोसमेत भेटिएको जानकारी दिए । पाँचथर माइत भएकी प्रेमबहादुर जोगीकी कान्छी श्रीमती राधिका श्रीमानले छोडेपछि ६ वर्षीया छोरीसँग मागेर गुजारा गर्ने गरेकी थिइन् ।

त्यस्तै कनकाईको कोटीहोम क्षेत्रमा एक जना वृद्धा आज अत्यधिक गर्मीका कारण ढलेकी छन् । कोटीहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्याम कुटीमा लगेर राखेको र सुरुङ्गा स्वास्थ्य केन्द्रमा लैजान लागिएको स्थानीयले बताएका छन् । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती वृद्धाको पहिचान खुलिसकेको छैन ।

 

तपाईको प्रतिक्रिया