Online Bichar
शनिबार, आश्विन ०५, २०८१ | Saturday, September 21, 2024

काठमाडौँ, ५ असोज २०८१ । वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाएर साउदी अरब पुगेका दुई नेपालीलाई ९० हजार ७ सय साउदी रियाल अर्थात् ३२ लाख ४७ हजार नेपाली रुपैयाँ जरिमाना लागेको छ ।

२ वर्ष ६ महिनाअघि साउदी अरब पुगेका सप्तरीका जितेन्द्र सरदार र महोत्तरीका दीपक माझीलाई यति ठूलो जरिमाना लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिएका छन् ।

कोशी म्यानपावरमार्फत लुमाहा कम्पनीमा पुगेका सरदार र माझी त्यहाँ पुगेको ६ महिनापछि ‘अकामा’ नवीकरण नगरी कम्पनी छाडेर भागेका थिए । कम्पनीबाट भागेपछि उनीहरूलाई पुरानो कम्पनीले जनही ४५ हजार ३ सय ५० साउदी रियाल जरिमानासहित भगौडा कामदारको सूचीमा राखेको थियो ।

गत जुलाईमा उनीहरूले एक्जिट (बहिर्गमन भिसा) का लागि त्यहाँस्थित बुरैदा लेबरकोर्टमा निवेदन दि“दा जरिमाना लागेको बल्ल थाहा भयो । जरिमाना रकम नतिरेसम्म ‘बहिगर्मन भिसा नलाग्ने’ भनेपछि उनीहरूले रियादस्थित नेपाली दूतावासलाई हारगुहार गरे । त्यसपछि दूतावासले अभिभावकीय भूमिका निर्वाह गर्दै वकिलमार्फत उनीहरूको नाममा रहेको जनही ४५ हजार ३ सय ५० साउदी रियाल जरिमाना मिनाहा गराएको थियो ।

त्यसपछि बल्ल उनीहरूको मुहारमा हाँसो देखियो । अब भने ‘एक्जिट भिसा’ प्रक्रिया सुरु भएको छ । सो प्रक्रिया सुरु भएपछि आइतबार भिसा लाग्यो र उनीहरू बुधबारको उडानमार्फत नेपाल फर्कन सफल भएको एनआरएनए क्षेत्रीय समन्वय समिति अलकासिमका सचिव श्रेष्ठले बताए । उनीहरू प्रतिनिधि पात्र मात्र हुन् । यसरी रोजगारदाता कम्पनी छाडेर भागेर हिँड्ने नेपाली कामदार संख्या साउदी अरबमा ठूलो संख्यामा छ ।

गत वर्षको आँकडाअनुसार त्यहाँ पुगेर कम्पनी छाडेर भागेर दूतावासको सम्पर्कमा रहेका १ सय ७७ नेपाली थिए । उनीहरूलाई ४६ लाख ९० हजार साउदी रियाल अर्थात् १६ करोड ४१ लाख ५० हजार नेपाली रुपैयाँ जरिमाना तोकिएको थियो । साउदीमा ११ हजार १ सय २६ नेपाली अवैध रूपमा रहेका बताइएको छ ।

गत वर्षकै आँकडानुसार साउदीमा करिब ४ लाखको संख्यामा नेपाली कामदार रहेकामा ४ हजार १ सय ७९ महिला, घरेलु कामदार संख्या २ हजार ७ सय ९४, महिला घरेलु कामदार १ हजार १२ र पुरुष घरेलु कामदार संख्या १ हजार ७ सय ९२ थियो । पछिल्लो समय साउदीले भिसा म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धरपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा कार्यरत सयौं नेपाली पनि पक्राउ परेका छन् । हाल उनीहरूलाई जेलमा राखिएको छ । जेल अवधि समाप्तिपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी ‘डिपोर्ट’ गर्ने गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया