Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठमाडौँ, ३० भदौ २०८१ । देशका विभिन्न स्थानीय तहकामा निधन लगायत विभिन्न कारणले ४१ जना जनप्रतिनिधि रिक्त रहेपछि निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १६ गतेका लागि उपनिर्वाचनको मिति तय गरेसँगै निर्वाचन आयोग उपनिर्वाचनमा जुटेको हो । यसअघि आइतबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपनिर्वाचनको बारेमा छलफल भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

भेटमा सरकारलाई आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्न सुझाव दिएको थियो । आयोगले दिएको सुझावका आधारमा सरकारले मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

नगर प्रमुखदेखि वडाध्यक्षसम्म गरी देशभर ४१ स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको छ । हालै दुर्घटनामा परी रुकुम पूर्वको पृथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा र सोही गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको सवारी दुर्घटनामा निधन भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने दिनसम्म जुन–जुन ठाउँमा खाली रहन्छ त्यो ठाउँमा उपनिर्वाचन गर्ने आयोगको तयारी रहेको उल्लेख गरे ।

यस्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखकलाई उपनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था गर्न निर्देशन समेत दिए ।

यस्तै बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेललाई आवश्यक बजेट व्यवस्था गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई भोलिदेखि नै निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन हुने बताए ।

हाल नगरप्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडा अध्यक्ष ३१ र जिल्ला समन्वय समितिका प्रमुख २ गरी ४१ जनप्रतिनिधि रिक्त रहेको छ ।

यस्तो छ आयोगको तयारी

निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता विवरण अध्यावधिक गर्ने काम सुरु गरिसकेको छ । त्यसका लागि नगरपालिकाको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष पद रिक्त भएका स्थानीय तहमा १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया अघि बढाएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।

उनले भने, ‘हामीले निर्वाचन गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेका छौँ ।’

आयोगले उपनिर्वाचनका लागि कति बजेट लाग्छ, कति ठाउँ छन् भन्नेबारे अध्ययन गरिरहेको छ । यस्तै मतपत्र बाहेक उपनिर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री व्यवस्थापनको काम पनि भइरहेको छ । यसअघि नै प्रयोग भएका र बाँकी रहेका निर्वाचन सामग्री उपनिर्वाचनमा प्रयोग गरिने थपलियाको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया