Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

काठ्माडौं, ३० भदौ २०८१ । दसैं आउन करिब एक महिना बाँकी हुँदा विभिन्न गन्तव्यहरूको टिकट बुकिङ सुरू भइसकेको छ। दसैंमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने भन्दै यात्रुले धमाधम टिकट बुकिङ थालेका छन्।

आन्तरिकतर्फ उडान गरिरहेका बुद्ध, यती र श्री एयरलाइन्सका सबैजसो गन्तव्यमा दसैंका लागि टिकट बुकिङ भइरहेका छन्।

वायुसेवा कम्पनीहरूका अनुसार हवाई उडानमा टिकट अग्रिम बुकिङ भन्ने हुँदैन। सधैं जसो टिकट बुकिङ चलिरहने हुँदा यात्रुले आफ्नो सहजका लागि जुनसुकै बेला टिकट बुकिङ गर्न सक्नेछन्।

दसैंमा विशेषगरी फूलपातीको अघिल्लो दिनदेखि दशमीको दिनसम्म काठमाडौं बाहिरिनेको चाप हुन्छ। अहिलेसम्म बुद्ध र यति एयरको ६० प्रतिशत टिकट बुकिङ भइसकेको छ।

कतिपय गन्तव्यमा भने टिकट नै नपाउने सम्भावना रहेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्ण बताउँछन्।

उनका अनुसार संखुवासभाको तुम्लिङटारका लागि अहिल्यै टिकट बुकिङ भइसकेको छ। दसैं आउनु दुई महिनाअघि देखि नै यात्रुले टिकट बुकिङ थालेका थिए।

‘अब कसैले टिकट क्यान्सिल गरे भने टिकट पाइन्छ नत्र तुम्लिङटारको लागि टिकट बुकिङ भइसकेको छ,ु उनले भने, ुउडान संख्या कम भएका अन्य विमानस्थलमा पनि टिकट नपाइने अवस्था आउन सक्छ।’

तुम्लिङटारमा हाल बुद्ध एयरको एटिआर-७२ ले दैनिक एउटा उडान गर्दै आइरहेको छ। बुद्ध एयरसँग हाल १९ वटा एटिआर जहाज छन्। यसका दैनिक डेढ सयभन्दा बढी उडान हुन्छन्।

त्यस्तै, यती एयरलाइन्समा पनि दसैंका लागि टिकट बुकिङ उत्साहजनक रहेको प्रवक्ता सुदर्शन बर्तौला बताउँछन्।

उनका अनुसार फूलपातीको अघिल्लो दिनदेखि टीकाको दिनसम्मका लागि बाहिरिने यात्रुहरूले टिकट लिइरहेका छन्।

अगाडि नै टिकट बुकिङ गर्दा केही सस्तो पनि पर्ने उनी बताउँछन्।

‘धेरैले दसैंमा एयरलाइन्सहरूले भाडा बढाए भनेर हल्ला गर्नुहुन्छ तर त्यस्तो हुँदैन। चाँडो टिकट लिँदा चाहिँ न्यूनतम भाडाका केही सस्ता टिकटहरू पाउन सकिन्छ,’ उनले भने, ‘काठमाडौंबाट बाहिरिने जहाजमा यात्रु भरिए पनि फर्कने जहाज खाली हुन्छन्। त्यसलाई व्यवस्थापन गर्न पनि सस्तो र महँगो भाडा पर्न जान्छ।’

घर जाने मिति तय भइसकेको छ भने समयमै टिकट लिँदा सहुलियत भाडामा जान पाइने उनको भनाइ छ।

यतीले हाल एटिआर ७२ का ७ वटा जहाजमार्फत विभिन्न गन्तव्यहरूमा उडान गरिरहेको छ।

तपाईको प्रतिक्रिया