Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौं, २२ साउन २०८१ । मंगलबार र बुधबार देशका ३४ जिल्लामा रात्रिकालीन बस सञ्चालन नहुने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गरेर भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भएकाले पाँच वटा प्रदेशका विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन नगर्न अनुरोध गरेको छ।

उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम छन् भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा रहेका छन्। त्यसैगरी गण्डकी प्रदेशमा म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन्।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम रहेका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी उच्च जोखिममा रहेका छन्।

यी जिल्लाहरूमा अति भारी वर्षाका कारण विपद्का घटना बढ्न सक्ने हुनाले रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको प्राधिकरणका उपसचिव एवं प्रवक्ता डा। डिजन भट्टराईले बताए।

प्राधिकरणले भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा विपद्को जोखिममा रहेका मानिसहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिले समन्वय गरी तत्काल सुरक्षित आश्रयस्थलमा सार्न पनि आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया