Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

काठमाडौँ, २१ साउन २०८१ । यसवर्षको वर्षे सिजनको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। साउन तेस्रो सातासम्म देशभर खेतीयोग्य जमिनको ९६ प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ सकिएको कृषि विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।

केन्द्रबाट प्राप्त विवरणमा आइतवारसम्म देशभर ९६.३ प्रतिशत अर्थात १४ लाख १ हजार २७३.७३ हेक्टरमध्ये १३ लाख ४९ हजार ६०७.४ हेक्टर जमिनमा रोपाइँ सकिएको छ।

अनुकुल मौसम (पानी परेका) का कारण यसवर्ष किसानले समयमै धान रोप्न भ्याएका छन्। गतवर्ष यही अवधिमा ८१ प्रतिशतमात्रै रोपाइ भएको थियो। केन्द्रका सूचना अधिकारी बलराम रिजालले भने, ‘अब मकै भाँचेर धान रोप्ने, चैते धान भित्र्याएर वर्षे धान रोप्ने जस्ता छिटफुट ठाउँबाहेक लगभग रोपाइँ सकिएको छ।’

असार १५ सम्म अघिल्लो वर्षको तुलनामा खासै फरक थिएन। असार १५ देखि मनसुन सक्रिय भएसँगै रोपाइँ तीव्र भएको हो। गतवर्ष भदौ पहिलो हप्ता रोपाइँ सकिएको थियो। यसवर्ष भने साउन सकिनै लाग्दा छिटफुटबाहेक रोपाइँ सकिने चरणमा छ।

केन्द्रका अनुसार सुदुरपश्चिममा शतप्रतिशत रोपाइँ भइसक्यो। त्यहाँ धान रोपाइँ हुने १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७४ हजार ५०१ हेक्टरमा यसपटक धान रोपिएको छ।

सबैभन्दा धेरै धानबाली हुने मधेस प्रदेशमा ९५.४ प्रतिशत रोपाइँ भएको छ। मधेसमा धान रोपाइँ हुने जमिन ३ लाख ८६ हजार १५० हेक्टर रहेको छ। त्यसमध्ये ३ लाख ६८ हजार ३८३.६ हेक्टरमा रोपाइँ सकियो।

मधेसपछि धान हुने धेरै जमिन लुम्बिनी प्रदेशमा ३ लाख ११ हजार ६४३ हेक्टर रहेको छ। जहाँ ९६.७ प्रतिशत अर्थात ३ लाख १ हजार ४९८ हेक्टरमा रोपाइँ भइसकेको छ।

त्यस्तै, कर्णाली प्रदेशमा रोपाइँ अन्तिम चरणमा छ। त्यहाँको धान रोपाइँ हुने ४१ हजार ९०४ हेक्टरमध्ये ४१ हजार ५७८.२ हेक्टर जमिनमा रोपाइँ भइसकेको छ।

गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमध्ये ९२ हजार २७० हेक्टरमा किसानले धान रोपिसकेका छन्। गण्डकीमा धान रोपिने कुल क्षेत्रफलको ९६.१ प्रतिशतमा रोपाइँ सकिएको हो।

बागमती प्रदेशमा अझै ५ प्रतिशत क्षेत्रफलमा धान रोप्न बाँकी छ। आइतवारसम्म ९४.९ प्रतिशत भागमा धान रोपेर सकिएको केन्द्रले जनाएको छ। बागमती प्रदेशको १ लाख १४ हजार ५६१ क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यसमध्ये १ लाख ८ हजार ७७२.१४ हेक्टरमा रोपाइ भइसकेको छ।

कोशी प्रदेशबाट प्राप्त गत शुक्रबारसम्मको तथ्यांकमा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। कोशीमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमा धान रोपाइँ हुने गर्छ। त्यहाँ २ लाख ६२ हजार ६०४.४६ हेक्टरमा रोपाइँ भएको छ।

गतवर्ष साउन १९ गतेसम्म देशभर ८१.८ प्रतिशत अर्थात सुदुरपश्चिममा ९९.२ प्रतिशत, कर्णालीमा ९६.३ प्रतिशत, कोशीमा ९०.५ प्रतिशत, गण्डकीमा ९९.६ प्रतिशत, लुम्बिनीमा ८६.३ प्रतिशत, बागमतीमा ८०.१ प्रतिशत, मधेस प्रदेशमा ६०.४ प्रतिशत मात्र रोपाइँ भएको थियो।

खाद्य सुरक्षाको मुख्य आधार धान प्रमुख खाद्यान्न बाली हो। नेपालमा वर्षे र चैते धान गरी दुईबाली लगाइन्छ। वर्षे धानको तुलनामा चैते धानको उत्पादकत्व बढी भएका कारण सरकारले चैते धान हुने क्षेत्रफल विस्तार गरेर मुलुकमा धान चामलको आयात कम गर्ने रणनीति लिएको छ।

यहाँ वर्षे धानको औसत उत्पादकत्व प्रतिहेक्टर ३.९८ मेट्रिक टन रहेको छ भने चैते धानको उत्पादकत्व ४ मेट्रिक टनभन्दा माथि रहेको छ।थाहाखबरबाट

 

तपाईको प्रतिक्रिया