Online Bichar
मंगलबार, आश्विन ०१, २०८१ | Tuesday, September 17, 2024

काठमाडौं, १६ साउन २०८१ । यस वर्ष तुलनात्मक रूपमा वर्षा भएपछि मुलुकभरिमा १२ लाख ९२ हजार २ सय २२ हेक्टरमा धान रोपाइँ सकिएको छ । मुलुकभरिमा अझै पनि १ लाख ६ हजार हेक्टरमा धान रोपाइँ हुन बाँकी रहेको छ । मुलुकभरिमा १३ लाख ९८ हजार २ सय ७४ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेको छ ।

कृषि विभागको तथ्यांकनुसार आइतबारसम्ममा कुल ९२ दशमलव ४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष १२ साउनसम्म जम्मा ७८ दशमलव १ प्रतिशत मात्र धान रोपाइँ सकिएको थियो ।

तथ्यांकनुसार गत वर्षको तुलनामा १४ प्रतिशतले धान रोपाइँ सकिएका कारण यस वर्ष धान बढी उत्पादन हुने अनुमान गरिएको छ । ६ साउनसम्म ११ लाख ८१ हजार ४ सय ७० हेक्टर मात्रै धान रोपाइँ सकिएको थियो । एक सातामा १ लाख हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको हो ।

कृषि विभागका प्रवक्ता डा। अरुण काफ्लेका अनुसार अबको एक साताभित्र धान रोपाइँ सकिनेछ । यस वर्ष समयमै ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान रहेको छ ।

तथ्यांकनुसार यस वर्ष सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ सकिएको छ । सुदूरपश्चिममा ९९ दशमलव ६ प्रतिशत अर्थात् १ लाख ७३ हजार ८ सय हेक्टरमा धान रोपाइँ सकिएको छ । सबैभन्दा कम धान रोपाइँ सकिएको प्रदेशका रूपमा कोशी प्रदेश रहेको छ । कोशीमा ९० दशमलव ७ प्रतिशत धान रोपाइँ सकिएको छ ।

कोशीमा २ लाख ७६ हजार हेक्टरमध्ये २ लाख ५० हजार हेक्टरमा रोपाइँ सकिएको हो । गत वर्षको सोही अवधिसम्ममा सो क्षेत्रमा ८३ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

सबैभन्दा कम धान रोपाइँ हुने क्षेत्र रहेको कर्णालीमा ९७ प्रतिशत रोपाइँ सकिसकेको छ । गत वर्ष कर्णालीमा ८५ प्रतिशत मात्रै रोपाइँ सकिएको थियो । कर्णालीमा ४१ हजार ९ सय हेक्टर मात्रै धान रोपाइँ हुने क्षेत्र रहेको छ । गत वर्ष ५८ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको मधेस प्रदेशमा यसपालि भने उत्साहजनक रूपमा ९२ प्रतिशत रोपाइँ सकिसकेको तथ्यांक रहेको छ । सबैभन्दा बढी धान उत्पादन हुने र क्षेत्रफल पनि अधिक रहेको मधेसमा ३ लाख ५२ हजार ४ सय ४३ हेक्टरमा धान रोपाइँ सकिएको हो । सो प्रदेशमा कुल ३ लाख ८३ हजार १ सय ५० हेक्टर धान रोपाइँ हुने क्षेत्र रहेको छ ।

लुम्बिनीमा ९१ दशमलव ३ प्रतिशत, गण्डकीमा ९२ प्रतिशत, बाग्मतीमा ९० दशमलव ८ प्रतिशत धान रोपाइँ सकिएको तथ्यांक रहेको छ । लुम्बिनीमा २ लाख ८४ हजार हेक्टर, गण्डकीमा ८८ हजार २ सय ५२ हेक्टर र बाग्मतीमा १ लाख २ हजार हेक्टरमा धान रोपाइँ सकिएको छ ।

यस वर्ष रासायनिक मलको अभाव गत वर्षको तुलनामा कमै मात्र भएकाले र समयमै वर्षात् भएकाले गत वर्षभन्दा बढी नै धान उत्पादन हुने अपेक्षा गरिएको छ । कृषि विभागका अनुसार रोपाइँ हुन साढे ७ प्रतिशत अर्थात् १ लाख ६ हजार ५२ दशमलव १६ हेक्टर मात्रै बाँकी छ ।

गत वर्ष पनि अघिल्ला वर्षको तुलनामा धान उत्पादन बढेको थियो । गत आव २०८०–८१ मा ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको दाँजोमा ४ दशमलव ३३ प्रतिशतले बढी थियो ।

मुलुकभरिमा सिँचाइयोग्य १७ लाख ६० हजार हेक्टरमध्ये ८८ दशमलव ५ प्रतिशतमा सिँचाइ सुविधा पुगिसकेको छ । यस्तै, कृषियोग्य २६ लाख ४० हजार हेक्टरमध्ये ५९ प्रतिशतमा मात्र सिँचाइ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया